नुवाकोट– बेल्कोटगढीमा आयोजित झिल्टुङ नेपाल समाजको साधारण सभा तथा सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै वरिष्ठ पत्रकार किशोर नेपालले नेपालमा संघीयताको परिकल्पना गर्दा केन्द्रले पालिकाहरूलाई आफ्नो कब्जामा लिने रणनीति संविधानमै राखेकोमा असन्तुष्टि जनाएका छन् ।
‘केन्द्रले पालिकाहरूलाई आफ्नो कब्जामा लिने जुन रणनीति अपनाएको छ, संविधानमै अप्रत्यक्ष रुपमा त्यस्तो रणनीति राखिएको हुँदा पालिकाहरुले स्वतन्त्र रुपमा आफ्नो क्षेत्रको विकास गर्न पाएका छैनन ।’ वरिष्ठ पत्रकार नेपालले भने। उनले स्थानीय तहलाई बलियो बनाउन जनप्रतिनिधिहरु एक भएर आवाज उठाउन सक्नुपर्ने बताए । स्थानीय तह बलियो भएमात्र नेपालमा संघीय गणतन्त्रको औचित्य स्पष्ट हुने उनको भनाइ थियो ।
‘संसारमा कहीँ पनि केन्द्रको आदेशमा स्थानीय तहले काम गर्दैन । केन्द्रले पालिकालाई नियन्त्रण गर्न सक्दैन । देशभरका निर्वाचित पालिका नेतृत्वकर्ताहरु एक भएर आफ्नो पालिकाको अधिकार केन्द्रसँग लिनुहोस् ।’ उनले भने ।
कार्यक्रममा बोल्दै बेलकोटगढी नगरपालिकाका प्रमुख जगतबहादुर गुरुङले पालिकाका हरेक वडामा विकासका काम गर्न बजेटमा पूर्ण अधिकार नहुँदा समस्या भएको औँल्याएका थिए ।
नुवाकोटको झिल्टुङ थातथलो भइ देशका विभिन्न भागमा छरिएका नेपाल बन्धुहरुलाई समेटी ५ वर्षअघि झिल्टुङ नेपाल समाज गठन गरिएको थियो । छरिएर रहेका नेपाल बन्धुलाई एकीकृत गरी समुदायका सबै वर्ग र क्षेत्रको विकासमा एकजुट हुने उद्देश्यले समाज गठन भएको समाजका अध्यक्ष नारायणप्रसाद नेपालले बताए । कार्यक्रममा झिल्टुङ नेपाल समाजले समाजसेवी र जनप्रतिनिधिहरूलाई सम्मान गरेको थियो ।