टिपर दुर्घटना हुँदा तीनको मृत्यु, एक जना घाइते 

राम्रो अनलाइन     ०५ माघ २०७७, सोमबार
टिपर दुर्घटना हुँदा तीनको मृत्यु, एक जना घाइते 

सोलुखुम्बुमा टिपर दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै ज्यान गएको छ । निर्माणाधीन ८६ मेगावाटको सोलुखोला दूधकोशी जलविद्युत आयोजनाको सामान लाने क्रममा आइतबार राति दुर्घटना हुँदा अर्का एक जना घाइते भएको प्रहरीले जानकारी दिएको छ ।

सोलुदूधकुण्ड नगरपालिका–११ बरडाँडा गिद्धेभीरमा बा ४ ख ७९८० नम्बरको टिपर राति करिब ११ बजे दुर्घटनामा परेको हो । 

दुर्घटनामा धादिङ घर भएका चालक कमल मगर, मकवानपुरका राजकुमार मगर र सप्तरी सुरुङ्गाका कृष्णलाल चौधरीको मृत्यु भएको सोलुखुम्बु ट्राफिक प्रहरी प्रमुख सहायक निरीक्षक कृष्ण कटुवालले जानकारी दिए ।

दुर्घटनामा गम्भीर घाइते मकवानपुर जिल्ला बागमती गाउँपालिका–४ का रमेश मगरको उपचारका लागि अस्पताल लगिएको छ ।

सडकबाट खसेको टिपर दुई टुक्रा भएको प्रहरीले बताएको छ । अगाडिको भाग करिब सय मिटर तल पुगेको थियो भने पछाडिको भाग करिब तिन सय मिटर तल पुगेको असई कटुवालले जानकारी दिए । 

प्रतिक्रिया