काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको आह्वानमा सर्वदलीय बैठक बस्दैछ । बैठक शनिबार बिहान ११ बजे प्रधानमन्त्रीको सरकारको निवास बालुवाटारमा बस्न लागेको हो ।
कोभिड १९ भाइरसको महामारी र समसामयिक राजनीतिक विषयमा छलफल गर्न प्रधानमन्त्री ओलीले सर्वदलीय बैठक बोलाएको उनका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।
संसदमा प्रतिनिधित्व गर्ने सबै दलका प्रतिनिधिलाई बोलाइएको बैठकमा संसद अधिवेशन, कोभिड महामारी रोकथाम र नियन्त्रणका लागि चाल्नुपर्ने कदमलगायत विषयमा छलफल हुने थापाले बताए ।
पछिल्ला दिनमा कोरोना महामारी बढ्दै गएपछि सरकारले १४ जिल्लालाई अति प्रभावित घोषणा गरेको छ । यसअघि बोलाएको सर्वदलीय बैठक माओवादी अध्यक्ष पुष्पकमल दाहाल र उनी पार्टीका वरिष्ठ नेताद्वय माधवकुमार नेपाल र झलनाथ खनालले बहिस्कार गरेका थिए ।