काठमाडौँ – शिक्षा स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले पछिल्लो समयमा बढ्दै गएको डेंगु र हैजाजस्ता महामारीजन्य रोग नियन्त्रणका लागि तीनै तहको सरकार लागि परेको बताएका छन्।
प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको आजको बैठकमा मन्त्री पौडेलले स्वास्थ्य क्षेत्रको सुधारका लागि सरकारले केही नयाँ योजना बनाउँदै गरेको जानकारी दिए।
बैठकमा सांसदहरुले नेपाल रेडक्रस सोसाइटीमा भएको भ्रष्टाचारसम्बन्धमा छानविन समितिको प्रतिवेदन तत्काल सार्वजनिक गरिनुपर्ने, देशैभरका सरकारी अस्पतालमा स्तन क्यान्सरको स्क्रीनिङ् गर्ने मेसिन व्यवस्था गर्नुपर्ने र अस्पतालहरूमा बिरामीले ई- टिकट लिन सक्ने व्यवस्था गर्न सरकारसँग आग्रह गरे।
पछिल्लो समय आत्महत्याका बिरामी बढेको भन्दै सांसदहरुले विज्ञहरू परिचालन गरेर समुदायस्तरमा काउन्सिलिङ अभियान सुरु गर्नुपर्ने विचार सांसदहरुले बैठकमा व्यक्त गरे।