काठमाडाैं – नेपाली पारा तेक्वान्दो खेलाडी पलेशा गोवर्धनले पारा ओलम्पिकमा ऐतिहासिक कांस्य पदक जितेकी छन् । पेरिसस्थित ग्रान्ड प्यालेसमा गएराति भएको के–४४ विधा अन्तर्गत महिला ५७ केजी तौल समूहबाट पलेशाले कांस्य पदक जितेकी हुन् ।
कुनै पनि ओलम्पिकमा नेपाली खेलाडीले जितेको यो पहिलो आधिकारिक पदक हो । पलेशाले रिपिचेजको दोस्रो खेलमा सर्बियाकी मरिजा मिचेभलाई १५–८ अंकले हराएर कांस्य पदक जितेकी हुन् । रिपिचेजको पहिलो खेलमा आयोजक राष्ट्र फ्रान्सकी चौथो वरीयताकी सोफी कार्भजनलाई २–१ स्कोरले हराएपछि पलेशा कांस्य पदक भिडन्तमा पुगेकी हुन् ।
शीर्ष वरीयता प्राप्त ब्राजिलकी कार्डोसो फर्नान्डेजसँग क्वाटरफाइनलमा १०–८ अंकले पराजित भएपछि पलेशाको फाइनल यात्रा रोकिएको थियो । पेरिसमा पलेशाले राउन्ड अफ १६ को खेलमा भेनेजुएलाकी भलेरिया मोरालेसलाई एकपक्षीय रुपमा ३१–० अंक अन्तरले हराएकी थिइन् । पलेशा यसअघि सन् २०२१ मा भएको टोकियो ओलम्पिकको रिपिचेजको दोस्रो खेलमा पनि सर्बियाकी मरिजालाई नै हराएर कांस्यको भिडन्तमा पुगेकी थिइन् ।
पलेशा गत चैतमा चीनमा ताइयानमा सम्पन्न एसियाली ओलम्पिक छनोट चरण जित्दै पेरिस पुगेकी हुन् । पलेशा एसियाली छनोट चरण पार गरेर ओलम्पिक खेल्ने तेक्वान्दोकी तेस्रो खेलाडी बनेकी थिइन् । संगीना वैद्यले सन् २००४ को ग्रिस ओलम्पिक र दीपक विष्टले २०१० को बेइजिङ ओलम्पिक खेलेका थिए ।
पेरिस पारा ओलम्पिकमा नेपालका तीन खेलाडीले भाग लिएका छन् । त्यसमा बिहीबार पुरुष तेक्वान्दोकै भरतसिंह महता पराजित भएर बाहिरिएका थिए । पौडीमा नेपालका भीम बहादुर कुमालले पर्सि सोमबार प्रतिस्पर्धा गर्नेछ । उनले पुरुषको ५० मिटर फ्रिस्टाइल एस नाइन क्याटगोरीमा आफ्नो चुनौती प्रस्तुत गर्ने छन् ।
नेपालले ओलम्पिक इतिहासमा सन् १९८८ को सोल ओलम्पिकमा तेक्वान्दोको प्रदर्शनी खेलमा कांस्य पदक जितेको थियो । उक्त कांस्य विधान लामाले जितेका थिए । नेपालले सन् १९६४ को टोकियोदेखि ग्रीष्मकालीन ओलम्पिकमा सहभागिता जनाउन थालेको हो । सन् २००४ एथेन्सबाट नेपालले पारा ओलम्पिकमा पनि सहभागिता जनाउँदै आएको छ ।