न्यायको पर्खाइमा द्वन्द्वपीडित, नवलपुरमा २५ अझै बेपत्ता

राम्रो अनलाइन     १५ भदौ २०८१, शनिबार
न्यायको पर्खाइमा द्वन्द्वपीडित, नवलपुरमा २५ अझै बेपत्ता

 

नवलपुर – नवलपुरका द्वन्द्वपीडित परिवारले दश वर्षे सशस्त्र द्वन्द्वबाट प्रभावित भएर अझै पनि न्याय पाउन नसकेको बताएका छन् । अन्तर्राष्ट्रिय बेपत्ता बिरुद्धको दिवसका अवसरमा गरिएको अन्तरक्रिया कार्यक्रममा सो कुरा बताएका हुन् । 

शान्ति सम्झौता भएको १७ बर्ष भइसक्दा पनि राज्यले प्रभावितका बारेमा न्याय नगरेको  पीडितहरुको गुनासो छ । बेपत्तामा पारिएका व्यतिm छानविन आयोगमा भएको तथ्याङ्क अनुसार नवलपुरमा २५ जना रहेको बताइएको छ । आयोगमा २५ जना रहेको भए पनि बसाइसराई सरेर आएका तीन जना, सञ्जालको सम्पर्कमा २६ जना र एक जना केही समयअघि बेपत्ता भएको गरी २९ जना रहेको द्वन्द्वपीडित महिला सञ्जाल नवलपुरका अध्यक्ष पार्वती सिग्देलले बताए । जसमा महिला तीन र पुरुष २५ जना रहेका छन् । 

सञ्जालको तथ्याङ्कअनुसार १०२ सहिद परिवार, राष्ट्रिय सहिद घोषणा (राजपत्रमा) ३५ जना रहेका छन् । यस्तै, आर्थिक वर्ष २०८०–८१ को तथ्याङ्कअनुसार सत्यनिरुपण तथा मेलमिलाप आयोगमा त्रिसठी हजार, ७१८ वटा उजुरी परेको छ । व्यक्ति हत्यामा दश हजार ८५८ जना, अपहरण तथा शारीरिक बन्धकमा चार हजार ३१६, शारीरिक तथा मानसिक यातना १९ हजार ८७४, बलत्कार तथा यौनजन्य हिंसा ३१४ रहेको जनाइएको छ ।

विनयीत्रिवेणी –२ का स्थानीय हरि खड्काले २०७१ माघ २७ गते सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यतिm छानविन आयोग गठन भएको भए पनि काम हुन नसकेको बताए । लोकतान्त्रिक गणतन्त्र आएको छ, सविधान आयो तर गणतन्त्र ल्याउन योगदान गर्ने सहिद, बेपत्तापरिवारको अवस्था के छ कसरी जीवननिर्वाह भएको छ भन्नेबारे सरकारले ध्यान दिन नसकेको उनको भनाइ छ ।

नवलपुरमा द्वन्द्वपीडित महिलाको अझ पनि अवस्था दयनीय रहेको द्वन्द्वपीडित महिला सञ्जाल नवलपुरका अध्यक्ष सिग्देलले बताए । सहिद, बेपत्ता, अपाङ्गता, बिस्थापित, कुटपीट, शारीरिक तथा मानसिक यातना, बलात्कार, यौनहिंसा, जेलनेल लगायत बिभिन्न किसिमका यातना भोगेका महिलाले न्याय पाउन नसकेको उनले बताए । 

कार्यक्रममा सहभागीले द्वन्द्वपीडित यौनजन्य हिंसा र यातनाबाट पीडित, घाइते, अङ्गभङ्ग तथा मानसिक रुपमा समेत अशक्त भएका व्यतिmले सम्मानजनक तरिकाबाट जीवनयापन गर्न पाउनुपर्ने बताएका छन्  । जिल्ला समन्वय समिति नवलपुरका प्रमुख बाबुराम विश्वकर्माले लोकतान्त्रिक गणतन्त्र आइसकेपछि जुनसुकै तहका द्वन्द्वपीडित परिवारले न्याय अनुभुत गर्न पाउनुपर्नेमा जोड दिए । द्वन्द्व प्रभावितको अधिकार स्थापित गर्न स्थानीय पालिका जिम्मेवार रुपमा लाग्नुपर्ने बताए । 

अन्तर्राष्ट्रिय बेपत्ताबिरुद्धको दिवसका अवसरमा बेपत्ता र सहिद परिवारको सम्झनामा दिप प्रज्ज्वलन समेत गरिएको छ ।

प्रतिक्रिया