काठमाडौँ– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र महामन्त्रीद्वय गगन थापा(विश्वप्रकाश शर्माबीचको छलफल फेरि पनि निष्कर्षविहीन बनेको छ।
बूढानीलकण्ठस्थित देउवा निवासमा भएको कुराकानी कुनै निष्कर्षमा नपुगेपछि फेरि छलफल गर्ने सहमति भएको छ। वार्ता सरकारात्मक भएपनि निर्णय हुने अवस्थामा नपुगेको बूढानीलकण्ठ स्रोतको भनाइ छ। देउवाले फेरि पनि महामन्त्रीहरूलाई बोलाउने स्रोतको भनाइ छ।
केन्द्रीय समिति बैठकमा महामन्त्री थापा र महामन्त्री शर्माले पेस गरेको प्रतिवेदनका विषयमा देउवा र महामन्त्रीद्वय बीच मतैक्यता हुन सकेको छैन।
मंगलबार पनि देउवाले प्रतिवेदनको भाषा संशोधन गर्न दुवै महामन्त्रीलाई आग्रह गरेका थिए। तर थापा र शर्माले पछि नहट्ने अडान लिएपछि निष्कर्षमा पुग्न सकेको थिएन।
केन्द्रीय समितिमा आफू पक्षधर तीन चौथाईभन्दा बढी भएपनि देउवाले बहुमतबाट निर्णय लिन चाहेका छैनन्। त्यसरी बहुमत सदस्यबाट मतदानका आधारमा निर्णय लिँदा पार्टीमा मतविभाजन हुन सक्ने उनको ठहर छ। त्यसले उनले सर्वसम्मतिका लागि महामन्त्रीहरूसँग लगातार छलफल गर्दै आएका छन्। सर्वसम्मतिका लागि देउवाले सकेसम्म प्रयास गर्ने उनीनिकट एक नेताको भनाइ छ। तर पनि देउवाले पार्टी एक रहेको सन्देश दिन सर्वसम्मत निर्णय गर्न चाहेकाले पटकपटक छलफल गर्ने क्रम जारी छ।
पार्टीको महासमिति बैठकमा महामन्त्री थापाले आगामी निर्वाचनदेखि कसैसँग पनि गठबन्धन गर्न नहुने र अर्का महामन्त्री शर्माले एक्जिट पोलिसीका विषयमा प्रस्ताव गरेका छन्। यी दुवै विषयमा सभापति देउवाका ‘रिजर्भेसन’ छन्।
एक पटक राष्ट्रपति, दुई पटक प्रधानमन्त्री, तीन पटक मन्त्री र चार पटकभन्दा बढी सांसद बन्न नपाउने शर्माको प्रस्ताव छ। यद्यपि सांसद भने जति पटक पनि बन्न पाउने गरी संशोधन गर्न आफू तयार रहेको शर्माले बताउँदै आएका छन्।
तर शर्माको प्रस्तावलाई देउवासहितका उनी पक्षका नेताहरूले राष्ट्रपतिबाहेकका कुनै पनि पदमा यतिउति पटक भनेर तोक्न नहुने गरी संशोधन गर्नुपर्ने बताउँदै आएका छन्।
मंगलबारको छलफलमा महामन्त्रीहरूलाई बोलाइएको छलफलमा पार्टीका पदाधिकारी पनि सहभागी थिए। महामन्त्रीहरूका प्रतिवेदनमा कुरा नमिलेपछि देउवाले कांग्रेसको केन्द्रीय समिति बैठकको मिति नै सारिसकेका छन्।
बैठक भदौ १६ गते दिउँसो २ बजे बस्ने गरी बोलाइएको छ। यसअघि भदौ १२ गते बैठक बोलाइएको थियो। ‘प्रतिवेदन परिमार्जन गर्न सभापतिज्यूले भन्नुभयो। महामन्त्रीद्वयले आफ्नो रायसहित प्रतिवेदन परिमार्जन गर्न नसकिने बताउनुभयो,’ बैठकमा सहभागी एक पदाधिकारीले भनेका थिए।
प्रतिवेदन संशोधन गर्न महामन्त्री तयार नहुँदा साउन २३ सुरु भएको बैठक २८ सम्म चलेको थियो। तर सकिएन। भदौ ७ मा हुँदै भदौ १२ गतेका लागि सारिएको बैठक फेरि सारिएको हो।
महामन्त्री थापाले चुनावी गठबन्धन नगर्ने, १५ औं महाधिवेशन २०८२ मंसिरभित्र हुने सुनिश्चित गर्नुपर्ने र अर्का महामन्त्री शर्माको ‘एक्जिट पोलिसी’को प्रस्तावले कांग्रेसमा विवाद चलिरहेको छ।
संस्थापन पक्षले चुनावी गठबन्धन रणनीतिक हुने भएकाले अहिले घोषणा गर्नु नपर्ने र एक्जिट पोलिसीबारे अहिले छलफल आवश्यक नभएको तर्क गर्दै आइरहेको छ।
बैठकमा संस्थापन पक्षका नेताहरुले विरोध जनाएपछि सभापति देउवाले महामन्त्रीद्वयको प्रतिवेदनमा मध्यमार्गी बाटो खोजिरहेका छन्। तर, दुवै पक्षले आआफ्नो अडान नछाड्दा सहमति जुट्न सकेको छैन। प्रतिवेदनमा सहमति नजुटेपछि केन्द्रीय समितिको बैठक १६ गतेलाई राखिएको छ।