पोखरा– गण्डकी प्रदेशमा मन्त्रालयको संख्या बढाएर ९ वटा पुर्याउन सत्ता गठबन्धनका नेपाली कांग्रेस र एमालेबीच सहमति भएको छ। बिहीबार दुवै दलबीच यस्तो सहमति भएको हो। सरकारमा एमालेले ४ मन्त्रालय र कांग्रेसले ५ मन्त्रालय पाउने पनि सहमति भएको छ।
यसअघि गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले १० वटा मन्त्रालय बनाएर एमालेलाई ४ वटा दिने तयारी गरेका थिए। तर प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले मन्त्रालयको संख्या ९ भन्दा नबढाउने अडान लिएपछि सोही अनुसार एमाले र कांग्रेसले मन्त्रालयको संख्या टुंगोमा पुर्याएका हुन्।
मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे र एमाले संसदीय दलका नेता तथा पूर्वमुख्यमन्त्री खगराज अधिकारीले ९ मन्त्रालय बनाउने सहमति भइसकेको कांग्रेस प्रमुख सचेतक नन्दप्रसाद न्यौपानेले जानकारी दिए।
अहिले गण्डकी सरकारमा मुख्यमन्त्रीसहित कांग्रेस ३ जना माओवादीको चुनाव चिन्हबाट निर्वाचित नेपाल समाजवादी पार्टीका नेता फणीन्द्र देवकोटा र स्वतन्त्र सांसद राजीव गुरुङ (दीपक मनाङे) पनि छन्।
यसअघि उनीहरूलाई सरकारबाट हटाएपछि मात्र सरकारमा सहभागी हुन सकिने अडान एमालेले राखेको थियो। तर अप्ठेरो समयमा आफूलाई साथ दिएका दुवै सांसदलाई मुख्यमन्त्री पाण्डेले हटाउन चाहेनन्। यसपछि एमालेको शर्त अनुसार उनीहरूलाई कांग्रेसकै कोटामा मन्त्री दिने र आफूहरूलाई ४ मन्त्रालय दिन भनेका थिए।