काठमाडौँ–मोडलिङ क्षेत्रमा एक दशक लामो अनुभव बटुलेकी मोडल तथा कोरियोग्राफर स्वीकृति प्याकुरेलले पहिलोपटक अन्तर्राष्ट्रिय प्रोजेक्टमा हात हालेकी छिन्। प्याकुरेलको व्यवस्थापनमा पुरूषहरूको सौन्दर्य प्रतियोगिता ‘म्यान अफ दि इयर २०२४’को अडिसन खुला भएको छ। उनी संलग्न आयोजक कम्पनी ‘यू क्यान फ्लाई फेसन प्रालि’ले उक्त प्रतियोगिताको अडिसन आह्वान गरेको हो।
‘नारीले पुरूष प्रतियोगीताको व्यवस्थापन र कोरियोग्राफीको लागि अघि बढ्नु आफैमा नयाँ अनुभव रहनेछ,’ प्याकुरेल भन्छिन्, ‘यो मेरो करियरको सिकाई र भोगाईमा नयाँ प्रयोग रहनेछ।’
कार्यक्रम व्यवस्थापनमा पनि ४ वर्ष बढी समय बिताइसकेको उनको भनाइ छ। ‘मोडलिङ क्षेत्रमा लाग्दाको १० बर्षे अनुभव र कार्यक्रम व्यवस्थापनको अनुभवलाई आत्मसाथ गर्दै नयाँ यात्रामा निस्केकी छु, सबैको साथ सहयोगको अपेक्षा छ,’ प्याकुरेलले भनिन्।
नेपालको सबैभन्दा ठुलो भनिएको उक्त पुरूष फेसन प्रतियोगिता पहिलो पटक हुन लागेको हो। देशव्यापी रूपमा खुला अडिसनपछि छनोट भएका अन्तिम प्रतियोगीले फाइनल स्पर्धामा भाग लिने आयोजकले जनाएको छ।
यही अगष्ट ३१ बाट अडिसन सुरू हुँदा पहिलो अडिसन काठमाडौंमा हुनेछ भने सेप्टेम्बर ५ मा चितवन, सेप्टेम्बर ७ मा पोखरा, सेप्टेम्बर ८ मा बुटवल र सेप्टेम्बर १० मा काठमाडौंमा दोस्रो अडिसन हुनेछ। यस्तै मोरङको विराटचोकमा सेप्टेम्बर १२ र विराटनगरमा सेप्टेम्बर १४ लाई अडिसन मिति तोकिएको छ। सहभागी हुन चाहनेहरूको लागि इसेवा एप मार्फत आवेदन खुला गरिएको छ।
यो प्रतियोगीताको व्राण्ड एम्बास्डर तथा बोर्ड सदस्यको रूपमा स्टाइलिस्ट एक्टर अनुपबिक्रम शाही छन् भने एभेन्ट मेन्टर तथा कोरियोग्राफरमा अभिनेता प्रशान्त ताम्राकार छन्। मोडलिङ र फेसनको दुनियाँमा भविष्य खोजिरहेका युवाहरूलाई स्थान दिने र उनिहरूको कला तथा क्षमता प्रस्फुटन गराउने उद्देश्यले यो कार्यक्रम आयोजना गरिएको प्रवन्ध निर्देशक प्याकुरेलले बताइन्।
अडिसनबाट अन्तिम छनोटमा परेकाहरूबीच यो प्रतियोगिताको फाइनल सेप्टेम्बर २८ मा काठमाडौंमा हुनेछ। ‘म्यान अफ दि इयर २०२४’का विजेताले नगद ७ लाख रूपैयाँ पुरस्कार प्राप्त गर्नेछन् भने आगामी नोभेम्बरमा थाइल्यान्डमा आयोजना हुने ‘म्यान अफ दि वर्ल्ड २०२४’को लागि नेपालको प्रतिनिधित्व गर्ने आयोजक संस्थाका संस्थापक संसद शाहले बताए। प्रतियोगिताको इभेन्ट कोर्डिनेसनमा मञ्जिल श्रेष्ठ छन्।