मुग्लिन–नारायणगढ सडक खण्डमा भिरबाट खसेको ढुंगा लागेर बस पल्टियो, २५ जना यात्रु घाइते

राम्रो अनलाइन     ०७ भदौ २०८१, शुक्रबार
मुग्लिन–नारायणगढ सडक खण्डमा भिरबाट खसेको ढुंगा लागेर बस पल्टियो, २५ जना यात्रु घाइते


काठमाडौं– चितवनको मुग्लिन–नारायणगढ सडकखण्ड अन्तर्गत भरतपुर महानगरपालिका २९ सत्रकिलोमा माथिबाट ढुंगा खसेर लाग्दा यात्रु बस दुर्घटना भएको छ ।

रौतहटको गौरबाट पोखरा जाँदै गरेको ग २ ख ४७ नम्बरको बस माथि आज दिउँसो १स्५० बजेतिर ढुंगा खसेको थियो । त्यसपछि चालक आत्तिएर बस अनियन्त्रित भएर सडकमै पल्टिएको मुग्लिन प्रहरी प्रमुख इन्सपेक्टर निरला भण्डारीले जानकारी दिइन् ।

यता, चितवन प्रहरीका अनुसार बस दर्घटनामा परी २५ जना यात्रुहरू घाइते भएका छन् । घाइते भएका ९ जनाको भरतपुर अस्पतालमा, ८ जनाको पुरानो मेडिकल कलेजमा र ८ जनाको चितवन मेडिकल कलेजमा उपचार भइरहेको चितवन प्रहरीले जनाएको छ ।

घाइतेमध्ये २ जनाको अवस्था गम्भीर छ। बसमा ३५ जना यात्रु भएको अनुमान गरिएको छ। ढुंगा लागेर बसमा क्षति पुगेको छ। पल्टिएको बस अहिले पनि घटनास्थलमै छ । सडक भने सुचारू गराइएको छ ।

यसअघि गत असार २८ गते सोही सडकखण्डमा बसमाथि ढुंगा खस्दा चालकको मृत्यु भएको थियो । सोही दिन सिमलतालमा पहिरोले २ बस बगाउँदा ६२ यात्रुको मृत्यु भएको थियो ।

प्रतिक्रिया