काठमाडौं–महिला उद्यमी महासङ्घ नेपाल (एफविन) ले महिला उद्यमीहरूको व्यवसाय चलायमान बनाउनका लागि सबै निकायले पहल गर्नुपर्नेमा जोड दिएको छ।
महासङ्घ स्थापना भएको २१ औँ वर्षमा पहिलोपटक महिला उद्यमीहरूको व्यवसायलाई कोरोना महामारी र आर्थिक मन्दीकाबीच कसरी चलायमान बनाउन सकिन्छ भन्नेमा केन्द्रीत गर्दै एकदिने तीज महोत्सव सम्पन्न गरेको छ।

शनिवार आयोजित एकदिने तीज महोत्सवको बौद्ध धर्मगुरु स्याल्पो रिम्पोचेले उद्घाटन गर्दै अहिले विश्वलाई नै शान्ति चाहिएको बताए।
यस्तै महासङ्घका संस्थापक सदस्य एवं बागमती प्रदेशका प्रदेश सभा सदस्य याङ्किला शेर्पाले महिला व्यसायी उद्यमीहरूलाई अघि बढाउन पर्ने सबै खालका सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरिन् ।

उनले हालसम्म आफूले महिला उद्यमी व्यवसायीहरूका लागि सहयोग गर्दै आएको र आगामी दिनमा पनि सहयोग जारी रहने पनि बताइन् ।
त्यसैगरी महासङ्घकी अध्यक्ष शोभा ज्ञवालीले २१ वर्षे महासङ्घको इतिहासमा पहिलोपटक तीज महोत्सवको आयोजना गरी महिला व्यवसायीहरूको व्यवसाय चलायमान बनाउनका लागि एकदिने प्रदर्शनीले थोरै भएपनि सहयोग पुग्ने बताइन्।
उनले जीवनका विभिन्न सङ्घर्षहरूलाई जित्दै महिला उद्यमी व्यवसायीहरूले कसरी जीवन बाँच्न सक्छन् भन्ने सिकाईबारे बताएका थिए। उनले अहिले हरेक निकायमा शान्तिको आवश्यकता रहेको हुँदा जीवनयापनका लागि पनि चाहिने शान्तिले मात्रै महिला उद्यमी व्यवसायीहरू सफल हुन सक्ने बताए।

उनले कोरोना महामारी र आर्थिक मन्दीको मारमा रहेका महिला उद्यमीहरूको साना तथा मझौला उद्योगलाई अघि बढाउन र प्रोत्साहन गर्न एकदिने तीज महोत्सवको आयोजना गरिएको बताइन्।
उनले भनिन्, ‘मारमा रहेका साना तथा मझौला उद्योग र उद्योगीहरूको मनोबल बढाउनका लागि हरेक क्षेत्रले सहयोग गर्न आवश्यक रहेको छ। त्यसका लागि सुस्त रहेको बजारको समयमा बेलाबेलामा यस्ता प्रदर्शनी, महोत्सव, मेला, बजारीकरण, व्यवसायीक क्षमता बढाउने सीप मेलाको आयोजना गरिनुपर्ने हुन्छ।’
आन्तरिक व्यवसायलाई प्रवर्द्धन गर्न, बजार चलायमान बनाउन, महिला उद्यमीहरूले गरेको उत्पादनलाई कसरी प्रोत्साहन र बजारीकरण गर्नमा सबैको सहयोग आवश्यक रहेको उनको भनाइ छ।

उनले महिला उद्यमी व्यवसायीहरूले आयोजना गरेका वा अन्य कुनै क्षेत्रले आयोजना गरेका यस्ता मेला प्रदर्शनीमा गएर उनीहरूको सामान खरिद गरिदिएर मनोबल उच्च बनाइदिन पनि आग्रह गरिन्।
एकदिने तीज महोत्सवमा ३५ वटा स्टल राखिएको महासङ्घकी कार्यकारी निर्देशक अभिलाशा पौडेलले बताइन्। उनले प्रदर्शनीमा चाडपर्व लक्षित विभिन्न सामाग्रीहरू राखिएको पनि जानकारी दिइन्। तीज महोत्सवमा हातेमालो वुमन ग्रुप अफ फाउण्डेसनका अध्यक्ष राधा सापकोटाले पनि सहभागिता जनाएकी थिइन् ।

