आज थारु समुदायले गुरही पर्व मनाउँदै

राम्रो अनलाइन     २५ साउन २०८१, शुक्रबार
 आज थारु समुदायले गुरही पर्व मनाउँदै

 

धनगढी– थारु समुदायमा बालबालिकाका पर्वको रूपमा लिइने गुरही पर्व आज मनाइदैं छ । खेतीपातीको कामपछि यो समुदायमा पहिलो पर्वको रूपमा गुरही मनाउन लागिएको हो ।

गुरही पर्वमा कपडाको गुरही (गाइने किरा) बनाएर गाउँभन्दा दक्षिण रहेको चौकमा साँझपख सेलाउने चलन रहेको छ । जसलाई थारु भाषामा गुरही असरैना भनिन्छ । 

यो पर्वमा बालिका वा किशोरीहरूले आफूसँग ल्याएको गुरही चौकमा फाल्ने र बालक वा किशोरहरूले ‘दे घुघ्री, दे घुघ्री’ भन्दै लट्ठी वा सोंताले ठटाउने, पिट्ने चलन रहेको जनाइएको छ । त्यसपछि गुरहीसंग ल्याइएको भुजा तथा गेडागुडी बाँडेर खाने चलन रहेको छ । गुरहीलाई ठटाएर गाउँघरबाट रोगव्याधी धपाउने गरेको मान्यता रहि आएको छ । 

गुरही पर्वमा गुरही असरैना कार्य पूरा गरेमा बालबालिकामा रोगव्याधी नलाग्ने र लागेको भए निको हुने गरेको जनविश्वास रहेको थारु अगुवा ठाकुर करिया प्रधानले बताए। खेतीपातीको कामपछि थारु समुदायको यो पहिलो पर्व रहेको जनाउँदै उनले संस्कृति संरक्षण र युवा पुस्तालाई गर्न आवश्यक रहेको उल्लेख गरे । 

यसैबिच, आज धनगढीको गुरही चौकमा नाचगानसहित सामूहिक रूपमा गुरही असरैना कार्यक्रम गर्ने तयारी गरिएको छ । सखी सञ्जालसहित थारु सम्बद्ध विभिन्न सङ्घसंस्थाको आयोजनामा गुरही असरैना कार्यक्रम गर्ने जनाइएको छ । थारु समुदायको गुरही, कठरिया थारु समुदायको पचइया पर्वको अवसर पारेर कैलालीका विभिन्न स्थानीय तहले आज स्थानीय सार्वजनिक बिदा दिएका छन् । 
 

प्रतिक्रिया