मनसुन सक्रिय भएसँगै डेंगु सङ्क्रमण बढ्दो

राम्रो अनलाइन     १६ साउन २०८१, बुधबार
मनसुन सक्रिय भएसँगै डेंगु सङ्क्रमण बढ्दो

 

काठमाडाैं – वर्षायामसँगै डेंगुको सङ्क्रमण बढ्न थालेको छ । लामखुट्टेको टोकाइबाट सर्ने डेंगु सङ्क्रमणको ‘पीक सिजन’ साउनदेखि कात्तिकसम्म रहने चिकित्सिकहरु बताउँछन् । तर यो वर्ष मनसुन भएसँगै डेंगुका सङ्क्रमितहरु देखिन थालेका छन् ।

सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयका तथ्याङ्क अधिकृत ऋषिराम पौडेलले डेंगुको सङ्क्रमण सुरु भइसकेको बताए । उनका अनुसार गण्डकी प्रदेशमा जनवरीदेखि जुलाई सम्मको तथ्याङ्कमा ५ सय ३८ जनामा डेंगु देखिएको छ ।

यो तथ्याङ्क अनुसार प्रदेशभर सबैभन्दा बढी कास्कीमा २१८ जनामा डेंगु सङ्क्रमण पुष्टि भइसकेको छ भने म्याग्दीमा ५३, लमजुलङमा ६४, तनहुँमा २९, नवलपुरमा १४, गोर्खामा ७०, स्याङ्जामा २२, पर्वतमा २५, बागलुङमा १० जनामा सङ्क्रमण देखिएको छ । पौडेलले गतवर्ष डेंगुबाट ७ जनाको मृत्यु भएपनि यो वर्ष  सङ्क्रमणबाट मृत्यु नभएको जानकारी दिए। उनले वर्षायाम सुरु भएसँगै कास्की, तनहूँ, गोरखाबाट बढी डेंगुको सङ्क्रमण देखिएको बताए। 

नेपालमा सन् २००४ मा पहिलो पटक डेंगु पुष्टि भएको थियो । २०१९ मा डेंगुका सबैभन्दा धेरै केस पुष्टि भएपछि यसले प्रकोपको रुपमा लिइएको थियो । उक्त वर्ष गण्डकी प्रदेशमा पनि डेंगुको प्रकोट उच्च रहेको गण्डकी प्रदेशको स्वास्थ्य आपत्तकालिन कार्यसञ्चालन केन्द्रका संयोजक डा.रमेश केसीले बताए । 'त्यसबेला कास्कीमा बढी सङ्ख्यामा डेंगुका बिरामी फेला परेका थिए । डेंगु फैलिँदा यहाँ व्यापक रुपमा ‘सर्च एण्ड डिस्ट्रोय’ अभियान चलाइएको थियो । लामखुट्टेको टोकाइबाट सर्ने यो रोग नियन्त्रण गर्न लामखुट्टे मार्ने अभियान नै चलाइएको थियो,’ उनले भने। 

उनले त्यसबेला घरघरमा पुगेर त्यो बेला नियन्त्रण गरिएको बताए । वर्षाको सिजन अझै बाँकी भएकोले हेलचेक्रयाँइ गर्न नहुने उनको भनाइ छ । केसीले तीन वर्षअघि पोखरा क्षेत्रमा डेंगु फैलिँदा नियन्त्रणका लागि घरघरमा पुगेर सङ्कलित पानी फ्याँक्ने, नाला सफा गर्ने, गमला फुटाउने, टायर खालि गर्ने लगायतका काम गर्दा अहिले नियन्त्रणमा सहज भएको सुनाए । 

डेंगुको सुरुवाती लक्षण ज्वरो भएकोले डाक्टरको सल्लाह बमोजिम औषधी नखान उनले आग्रह गरे। उनका अनुसार डेंगु लागेपछि उच्च ज्वरो आउने, जिउ, जोर्नी र हाड दुख्ने गर्छ । त्यस्तै आँखाको गेडी वरिपरि दुख्ने, वाकवाकी लाग्ने, वान्ता हुने, खान मन नलाग्ने, छालामा रगत जमेको धब्बा देखिने, नाक, गिजा, तथा शरीरका अन्य अङ्गबाट रगत बग्ने सम्भावना हुन्छ ।

'यसलाई सामान्य रुपमा लिनुहुँदैन । ज्वरो आयो भन्दैमा बुफ्रीन खाने बानी छ । त्यसो गर्नुहुँदैन । डाक्टरको सल्लाह लिएर औषधी खाने बानी बसालौं,’ उनले सुझाव दिए । डेंगु टेस्टको लागि प्रदेशभरका जिल्लाहरुमा किट उपलब्ध भइसकेको उनले बताए । लामखुट्टेको टोकाइबाट सर्ने डेंगु एक प्रकारको भाइरस भएकोले फूलबारी, गमला, एसी, फ्रिज, छत, कौसीको पानी जम्ने ठाउँमा यस्तो लामखुट्टेले फुल पार्ने र त्यो फुल एकवर्षसम्म पनि रहन सक्ने भएकोले सधैंभरी सचेत रहन उनले आग्रह गरे। 

चिकित्सकका अनुसार एडिस एजिप्टाई जातको पोथी लामखुट्टेको टोकाईबाट मानिसमा डेंगु सर्छ । यो लामखुट्टेले दिनको समयमा मात्र टोक्छ । यो लामखुट्टे फैलिनका लागि २० देखि ३० डिग्री सेन्टिग्रेड तापक्रम उपयुक्त मानिन्छ । त्यस्तै यो लामखुट्टे फैलिनका लागि ह्युमिडिटी (सापेक्षित आर्द्रता) ६० प्रतिशत आवश्यक पर्छ । ६० प्रतिशत ह्युमिडिटी भनेको वायुमण्डलमा हुने पानीको मात्रा बुझिन्छ । ६० प्रतिशत ह्युमिडिटीले यो लामखुट्टे फैलाउन सघाउने चिकित्सकले बताउने गरेका छन् । 

प्रतिक्रिया