रामेछाप– रामेछापमा पहिरोमा परेर तीन किशोरीको मृत्यु भएको छ। जिल्लाको गोकुलगंगा गाउँपालिका वडा नं.६ फर्पुको पहिरे भन्ने स्थानमा बिहिबार रातिको पहिरोमा परेर तीन किशोरीको मृत्यु भएको हो।
स्थानीय बिमा तामाङको घर माथिबाट आएको पहिरोले पुरेर घरभित्र आगो ताप्दै गरेका उनीहरुको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।
मृत्यु हुनेहरुमा १७ वर्षकी सिता तामाङ, १४ वर्षकी आसिका तामाङ र १३ वर्षकी लक्ष्मी तामाङ रहेका छन्। स्थानीय गोपी तामाङका अनुसार रोपाइँ गरेर घर आएका तीनजना किशोरीहरु आगो बालेर ताप्दै गर्दा घर माथिको डिस्को भत्किएर लेदो घरभित्र पस्दा लेदोले पुरिएर तीनै जनाको मृत्यु भएको बताइएको छ।