प्रधानमन्त्री ओलीले दिए सबैलाई धन्यवाद

राम्रो अनलाइन     ३० असार २०८१, आइतबार
प्रधानमन्त्री ओलीले दिए सबैलाई धन्यवाद


काठमाडौँ– नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले सबैलाई धन्यवाद दिएका छन्। प्रधानमन्त्रीमा नियुक्त लगत्तै उनले सामाजिक सञ्जालमार्फत सबैलाई दिएका हुन् । उनले सामाजिक सञ्जालमा ‘सबैमा समान, सबैलाई धन्यवाद’ उल्लेख गर्दै धन्यवाद दिएका हुन्। नेपाल कम्युनिष्ट पार्टी (एमाले) अध्यक्ष ओलीलाई राष्ट्रपति रामचन्द्र पौडेलले आज संविधानको धारा ७६ (२) अनुसार नियुक्त गरेका हुन् ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शुक्रबार प्रतिनिधिसभाको बैठकमा विश्वासको मत नपाएपछि राष्ट्रपति पौडेलले गत शुक्रबार प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रतिनिधिसभा सदस्यलाई प्रधानमन्त्री पदमा नियुक्ति गर्ने प्रयोजनका लागि यही आज अपराह्न ५ बजेभित्र दाबी पेस गर्न आह्वान गरेका थिए।

राष्ट्रपतिले दाबी पेस गर्न आह्वान गरे लगत्तै कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष ओलीले दलका नेताका हैसियतमा संसद्को बहुमत सदस्यको हस्ताक्षरसहित अध्यक्ष ओलीलाई प्रधानमन्त्रीमा नियुक्तिका लागि शुक्रबार नै दाबी पेस गरेका थिए। प्रधानमन्त्री ओलीको शपथ सोमबार बिहान ११ : ०० बजे हुने राष्ट्रपति कार्यालयले जनाएको छ ।

प्रतिक्रिया