काठमाडाैं – बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मट्टेलले राजीनामा नदिने निर्णय गरेका छन् । सङ्घमा सत्ता समीकरणमा भएको परिवर्तन भएसँगै बागमती प्रदेशको सत्तारुढ दल नेकपा (माओवादी केन्द्र) को आइबातर बसेको बागमती प्रदेश संसदीय दलको बैठकले मुख्यमन्त्री जम्कट्टेलले राजीनामा नदिने निर्णय गरेको छ ।
माओवादी केन्द्रको पार्टी कार्यालय पेरिसडाँडामा भएको संसदीय दलको बैठकमा पछिल्लो राजनीतिक अवस्थाको समीक्षासँगै मुख्यमन्त्री जम्कट्टेलले पदबाट राजीनामा नदिने निर्णय गरेको नेकपा माओवादी केन्द्र संसदीय दलका मुख्य सचेतक रत्नप्रसाद ढकालले जानकारी दिए ।
उनले मुख्यमन्त्री जम्कट्टेलले प्रदेश सभाको बैठकबाट विश्वासको मत लिने निर्णय गरेको बताए । मुख्यमन्त्री जम्कट्टेलले विश्वासको मत लिने समयका बारेमा भने नेकपा (एमाले) का मन्त्रीहरुको राजीनामा आएपछि निर्णय गर्नुहुने जनाइएको छ ।
यस प्रदेशमा एमालेसहितका साना दलको समर्थनमा मुख्यमन्त्री बनेका जम्कट्टेललाई दिएको समर्थन फिर्तासँगै एमालेका मन्त्रीहरुले राजीनामा दिने तयारी गरेका छन् ।
एमाले बागमती प्रदेश संसदीय दलका नेता एवम् आर्थिक मामिला तथा योजनामन्त्री जगन्नाथ थपलियाले मुख्यमन्त्री जम्कट्टेल हेटौँडामा नरहेकाले राजीनामा दिन र सरकारलाई दिएको समर्थन फिर्ता लिन रोकिएको बताए । यद्यपि, आइतबार मुख्यमन्त्री हेटौँडामा आउने र राजीनामा दिने कार्यक्रम रहेको उनको भनाइ छ ।
सत्ता गठबन्धन परिवर्तनसँगै नेपाली कांग्रेस गत फागुनमा सत्ताबाट बाहिरिएपछि गत चैतमा मुख्यमन्त्री जम्कट्टेलले एमाले, नेकपा (एकीकृत समाजवादी( र हाम्रो नेपाली पार्टीको समर्थनसहित विश्वासको मत प्राप्त गरेका थिए।