पोखरा । गण्डकी प्रदेश सरकारबाट माओवादी केन्द्र बाहिरिएपछि पृथ्वीसुब्बा गुरुङ नेतृत्वको एमालेको सरकार अल्पमतमा परेको छ । गुरुङ नेतृत्वको सरकारमा रहेका माओवादीका आन्तरिक मामिला तथा कानुनमन्त्री हरिबहादुर चुमान र भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री लेखबहादुर थापाले बुधबार राजीनामा बुझाएका दिएका थिए ।
संघीय सरकारमा पनि माओवादी केन्द्रले मन्त्री फिर्ता बोलाएपनि समर्थन कायमै राखेको छ । केन्द्रकै निर्देशनअनुसार बुधबार बिहान बसेको माओवादी केन्द्रको संसदीय दलको बैठकले दुईमन्त्रीलाई राजीनामा दिन निर्देशन दिएको थियो । लगत्तै दुई मन्त्रीले मुख्यमन्त्री गुरुङलाई भेटेर राजीनामा बुझाए भने प्रदेशसभा बैठकमा माओवादी संसदीय दलका नेतासमेत रहेका कानुनमन्त्रीले राजीनामा र त्यसको कारणबारे जानकारी गराए ।
सरकारमा बस्न नैतिकताले नदिएको बताएका चुमानले राजीनामा दिनु र अस्थिरताको खेल हुनुमा केन्द्र सरकारलाई दोष दिए ।
हिजै बसेको प्रदेशसभा बैठकलाई सम्बोधन गर्दै माओवादी केन्द्रका संसदीय दलका नेता चुमानले प्रदेश र केन्द्रमा अस्थिरताको खेल शुरु हुनुमा केन्द्र सरकारकै दोष रहेको बताए ।
संघ सरकार र त्यसको नेतृत्व गरिराखेका प्रधानमन्त्री ओलीले संघीयताको मर्मलाई बुझ्न नसकेको उनको भनाइ थियो । सरकारमै बसेर गलत गतिविधिलाई समर्थन गर्न नसकिने चुमानको भनाइ थियो ।
मुख्यमन्त्री गुरुङले भने मन्त्रीहरु फिर्ता बोलाउने माओवादीको निर्णय नै संघीयताको मर्म विपरीत भएको बताए । केन्द्रको निर्देशन मानेर २ जना मन्त्रीले पद छाड्दा गलत सन्देश भएको मुख्यमन्त्री गुरुङको तर्क थियो ।
सरकार गठन हुँदाको स्मरण गर्दै मुख्यमन्त्री गुरुङले उद्देश्यदेखि विचलित नहुन आग्रह गरे । दुर्ई मन्त्रीले राजीनामा दिएपनि माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छैन । तर कुनै पनि बेला फिर्ता लिनसक्ने भएकाले मुख्यमन्त्री गुरुङ त्यसअघि नै आफ्नो सरकार सुरक्षित बनाउने प्रयासमा लागेका छन् ।
६० सदस्यीय गण्डकी प्रदेशसभामा एमालेका २७ सांसद छन् । मनाङबाट स्वतन्त्र जितेका सांसद राजीव गुरुङ पनि मुख्यमन्त्री गुरुङलाई साथ दिएका छन् । ३ प्रदेशसभा सदस्य भएको राष्ट्रिय जनमोर्चाले पनि समर्थन कायमै राखेको छ । सरकार टिकाउन चाहिने ३१ सांसदलाई सुरक्षित राख्न उनले जनमोर्चालाई सरकारमा सहभागी गराउन चाहेका छन् ।
खाली भएका दुई मन्त्रालय जनमोर्चालाई दिएर भएपनि समर्थन कायमै राख्ने सुरमा मुख्यमन्त्री छन् । ‘मुख्यमन्त्रीले जनमोर्चाका नेताहरुसँग छलफल गरिरहेको भन्दै एमालेका प्रमुख सचेतक मायानाथ अधिकारी बताए । योसँगै सरकार अल्पमतमा परेको छ ।