प्रधानमन्त्रीले राजीनामा नदिने, संसदमा विश्वासको मत लिने

राम्रो अनलाइन     १८ असार २०८१, मङ्गलबार
प्रधानमन्त्रीले राजीनामा नदिने, संसदमा विश्वासको मत लिने

 

काठमाडौं– नेकपा (माओवादी केन्द्र) को पदाधिकारी बैठकले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राजीनामा नदिने र संसदमा विश्वासको मत लिने निर्णय गरेको छ ।

बालुवाटारमा मङ्गलबार बिहान बसेको पदाधिकारी बैठकले सो निर्णय गरेको माओवादी केन्द्रका नेता देवेन्द्र पौडेलले जानकारी दिए ।

उनले भने, ‘सम्माननीय प्रधानमन्त्रीले राजीनामा नदिने, विश्वासको मतको रुपमा तयार रहने । एक महिना बाँकी रहन्छ, यसका लागि तयार रहने । रातारात भएकाको जुन सहमति छ यो स्वाभाविक छैन । कसरी भयो ? किन भयो? अब खासगरी प्रधानमन्त्रीसँग पूर्व प्रधानमन्त्री एवम् नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले एकथरी कुरा गर्नुभयो, बेलुका अर्कोथरी कुरा गरे ।’ 

उनले सरकार लामो समयसम्म मिलेर जाने भन्ने कुरा चलिरहेको अवस्थामा संसद्को गणित फेर्ने र विश्वासको मत लिने गरी अगाडि बढ्ने बताए ।

यसैगरी, माओवादी केन्द्रका नेता अग्निप्रसाद सापकोटाले सत्ता समीकरणमा भएका दलहरुसँग छलफल गरेर निष्कर्षमा पुग्ने बताए ।

सापकोटाले भने, ‘जुन संविधान संशोधनको कुरा आएको छ, यो अग्रगमनभन्दा पश्चगमनतिरको यात्रा उन्मुख भएको जस्तो लाग्छ र संविधानको राम्रो अभ्यास गर्न पाइएको छैन । नयाँ मूल्य, मान्यता पनि त्यहाँ समावेश गरिएको छ । संविधानमा प्रश्न उठाउने कुरामा कहीं न कहीं रहस्य छ भन्ने लाग्छ । सङ्घीयता, समानुपातिकको सवालमा यी त्यति स्वाभाविक र प्राकृतिक लागिरहेको छैन । सबैसित छलफल गर्दैनौं । समीकरणका पार्टीहरुसित राष्ट्रिय जनजीवनका विविध पक्षसँग छलफल गरेर निष्कर्षमा पुग्छौं ।’ 

प्रतिक्रिया