काठमाडौँ– प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरुले मुलुकको समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराएका छन्। सांसदहरूले दुग्ध किसानहरुले समयमा दूधको भुक्तानी नपाएका कारण उनीहरू आन्दोलनमा रहेको विषयमा सरकारको ध्यानाकर्षण गराउँदै आन्दोलनरत किसानहरूसँग वार्ता गर्न र समयमा रकम भुक्तानी गर्न माग गरे।
सांसदहरुले कानुन अभावका कारण क्रसर तथा खानी उद्योगहरू नवीकरण हुन नसक्दा उद्योगहरू बन्द रहेको र उद्योगीहरू आन्दोलनमा रहेको भन्दै क्रसर उद्योग नवीकरण गरी सञ्चालनमा ल्याउन सरकारले पहल गर्नुपर्ने बताए।
सांसदहरूले वर्षाका कारण देशका विभिन्न स्थानमा सडक तथा पुलहरू अवरुद्ध हुँदा विद्यार्थी तथा आम मानिसहरूलाई आवतजावतमा समस्या भएको भन्दै त्यसतर्फ समयमै सरकारको ध्यान जानुपर्नेमा जोड दिए।
यस्तै सांसदहरूले ज्येष्ठ नागरिकलाई सामाजिक सुरक्षा भत्ता लिने प्रक्रियालाई सहज बनाइनुपर्ने, कवाड व्यवसायीमाथि लाठी प्रहार भएको र त्यसक्रममा कयौँ घाइते भएको भन्दै घाइतेहरूको निशूल्क उपचार गर्नुपर्ने लगायतका विषयमा सरकारको ध्यानाकर्षण गराए।