काठमाडाैं– कर्णाली नदीमा रहेको झोलुङ्गे पुलमा अड्किएका १३ खच्चरमध्ये ११ वटाको मात्र उद्धार भएको छ भने २ वटाको उद्धारकै क्रममा मृत्यु भएको छ।
आइतबार बिहान अछामको पञ्चदेवल बिनायक नगरपालिका–९ कालेकाडाबाट दैलेकको आठबिस नगरपालिका–४ खिड्किजिउला आउन पुल तर्दै गर्दा पुलको लट्ठा चुँडिएपछि १३ वटा खच्चड पुलमाथि नै अड्किएका थिए।
खुट्टा पुरै पुलको जालीभित्र पसेपछि खच्चड त्यहाँबाट निस्किन सकेनन्। ती खच्चडकाे पाँच घन्टापछि इलाका प्रहरी कालेकाडाले उद्धार गरेकाे हाे।
अड्किएका १३ वटामध्ये ३ वटाको पुलमाथिबाटै र ८ वटालाई कर्णालीमा खसालेर उद्धार गरिएको थियो। बाँकी मृत्यु भएका २ वटामध्ये एक वटाको पुलमै मृत्यु भएको र एउटाको नदीबाट निस्कन नसकेको अछामको पञ्चदेवल नगरपालिका-९ का वडाध्यक्ष राजप्रसाद जैसीले जानकारी दिए।
जीवितै उद्धार गरिएकाहरूको उपचार भइरहेको जैसीले जानकारी दिए।
व्यापारीले चिल्तडाबाट दैलेखको खिड्किजिउलातर्फ भारी लिन खच्चडलाई ल्याउनेक्रममा पुलको दुई वटा लठ्ठा चुडिएको थियो। पुलको एक तर्पको भाग पुरै बाङ्गो भएको छ।
अहिले पुलमा आवतजावतसमेत बन्द भएकाे छ।
यसअघिको पुल चुडिएको र पुलमा खच्चर अड्किएको विषयमा प्रकाशित समाचारमा वडाध्यक्ष जैसीले दिएको जानकारीअनुसार १२ वटा अच्चर पुलमा अड्किएकोलेखिएको थियो।