काठमाडौं–भारतीय जनता पार्टी (भाजपा) का नेता नरेन्द्र मोदी तेस्रो कार्यकाल निम्ति प्रधानमन्त्री बन्ने तयारीमा छन् । उनलाई नेसनल डेमोक्र्याटिक एलायन्स (एनडीए) संसदीय दलको नेता बनाएर सरकारका लागि दाबी पेस गर्ने तयारी रहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
त्यसका निम्ति एनडीएमा आबद्ध दलका नेताको बैठक शुक्रबार (भोलि) बस्दै छ । बैठकबाट मोदीलाई एनडीए संसदीय दलको नेता चयन गरिने र उनले सरकार बनाउन राष्ट्रपतिसमक्ष दाबी पेस गर्ने आजतकले जनाएको छ ।
भारतीय सञ्चारमाध्यमका अनुसार, मोदीले आउँदो शनिबार (जुन ८) मा तेस्रो कार्यकालका निम्ति प्रधानमन्त्री पदको शपथ लिने सम्भावना छ । उक्त शपथ समारोहबारे नेपाललाई औपचारिक जानकारी गराइएको छैन । नयाँ सरकार बनाउन राष्ट्रपतिसमक्ष दाबी, नियुक्तिको प्रक्रिया नै बाँकी छ । सोही कारण शपथको मिति पनि टुंगो लाग्न बाँकी छ ।
शपथको मिति तय हुन बाँकी रहेकाले औपचारिक रूपमा निमन्त्रणा पनि नगरिएको परराष्ट्र मन्त्रालय स्रोतको बुझाइ छ । शपथ समारोहमा नेपालबाट प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहभागी हुने सम्भावना छ ।