मदन भण्डारी राजमार्ग दैनिक १२ घण्टा बन्द हुने

राम्रो अनलाइन     १८ जेठ २०८१, शुक्रबार
मदन भण्डारी राजमार्ग दैनिक १२ घण्टा बन्द हुने

 

तम्घास– मदन भण्डारी राजमार्ग दैनिक १२ घण्टा बन्द हुने भएको छ । मदन भण्डारी राजमार्गको रिडी–तम्घास सडक खण्डमा २५ किलोमिटर सडक स्तरोन्नति कार्य गर्नका लागि जेठ १८ गतेदेखि असार १६ गतेसम्म दैनिक १२ घण्टा बन्द हुने भएको हो ।  

बिहान १० बजेदेखि साँझ ४ बजेसम्म र राती १० बजेदेखि बिहान ४ बजेसम्म सडक बन्द हुने जिल्ला प्रशासन कार्यालय गुल्मीले एक सूचना जारी गर्दै जनाएको छ । सडकको केही स्थानमा चट्टान फोर्ने र सडकको ग्रेड मिलाउने लगायतका कार्य गर्न भन्दै मदन भण्डारी राजमार्गको रिडी–तम्घास सडक खण्डको २५ किलोमिटर राजा सम्म समान्तर इलाइट जेभीले निर्माण कार्य गर्दै आएको छ ।

सडकमा कटिङ र स्तरोन्नति को काम गर्न करिब २२ वटा जेसिबी डोजर प्रयोग गरेर काम भइरहेको आयोजनाले जनाएको छ । राजमार्गमा ७० प्रतिशत सडकको कटिङको कार्य सकिएको समानान्तर इलाइट जेभीका इन्जिनियर राकेशकुमार पासवानले जानकारी दिनुभयो ।

सडकमा सवारी साधनले काम गर्न अवरोध गर्ने भएपछि समय तोकेर बन्द गरेरै काम हुँदै आएको छ । सवारी साधनको वृद्धिसँगै पुरानो बाटोले साँघुरो हुँदै गएपछि रिडीबाट तम्घाससम्मको ४५ किलोमिटर सडक विस्तार हुँदैछ । पहिलो चरण २५ किलोमिटर सडक स्तरोन्नतिसँगै कालोपत्रे हुन लागेको हो । २०७९ साल फागुन २८ गते सम्झौता भई २०८२ साल फागुन २५ गतेसम्म काम सम्पन्न गर्नुपर्ने समय अवधि छ ।  

एक अर्ब ५० करोड ४८ लाख ३२ हजार ९५९ रुपियाँको लागतमा सडक स्तर उन्नति र कालोपत्रे गर्ने गरी ठेक्का सम्झौता भएको छ । सडक बन्द भएसँगै वैकल्पिक सडक प्रयोग गरेर यात्रा गर्न जिल्ला प्रशासन कार्यालय गुल्मीको अनुरोध छ ।

प्रतिक्रिया