घोराही– दाङको लमही–कोइलाबास सडक खण्डअन्तर्गत चिसापानीमा बस दुर्घटना हुँदा २३ यात्रु घाइते भएका छन् ।
गढवा–कोइलाबास सडक खण्डअन्तर्गत गढवा गाउँपालिका–८ चिसापानीमा बुधबार दिउँसो कोइलाबासबाट लमहीतर्फ जाँदै गरेको रा१ख ८३३ नम्बरको यात्रुवाहक बस ब्रेक फेल भई दुर्घटना हुँदा २३ जना यात्रु घाइते भएका ईलाका प्रहरी कार्यालय गढवाका प्रहरी निरीक्षक कालिका कार्कीले जानकारी दिए ।
प्रहरी निरीक्षक कार्कीका अनुसार घाइतेहरुलाई उपचारका लागि लमही अस्पताल ल्याउने काम भइरहेको छ । उहाँका अनुसार घाइतेहरुको अवस्था समान्य रहेको छ । उनले भने, ‘कोइलावासबाट लमहीतर्फ आउँदै गरेको बस ब्रेक फेल भएर दुर्घटनामा परेको देखिन्छ । दुर्घटनामा घाइतेको अवस्था सामान्य छ ।’
दुर्घटनाका घाइतेहरुको नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयले घाइतेको उद्धार गरेका थिए । प्रहरीले बस चालक ५५ वर्षीय जोखनप्रसाद चौधरीलाई नियन्त्रणमा लिएर घटनाबारे अनुसन्धान भइरहेको जानकारी प्रहरी निरीक्षक कार्कीले जानकारी दिए ।