शीर्ष दल र कार्यदलको बैठक बालुवाटारमा जारी

राम्रो अनलाइन     १४ जेठ २०८१, सोमबार
शीर्ष दल र कार्यदलको बैठक बालुवाटारमा जारी

 

काठमाडौँ– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसद्को गतिरोध अन्त्य गरी सहज रूपमा बजेट प्रस्तुत गर्ने वातावरण बनाउने गरी शीर्ष दल र कार्यदलको बैठक बालुवाटारमा सुरु गरेका छन् ।  प्रधानमन्त्री प्रचण्डले बालुवाटारमा सत्तापक्ष र प्रतिपक्ष दलका नेताहरूसँग छलफल सुरु गरेका हुन् । 

छलफलमा नेकपा (एमाले) का उपाध्यक्ष विष्णु पौडेल, कार्यदल संयोजकसमेत रहेका कानुनमन्त्री पदम गिरी र एमालेका प्रमुख सचेतक महेश बर्तौला, नेपाली काङ्ग्रेसबाट उपसभापति पूर्णबहादुर खड्का, नेता कृष्णप्रसाद सिटौला, महामन्त्री गगन थापा, केन्द्रीय सदस्य ज्ञानेन्द्रबहादुर कार्कीलगायत सहभागी रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । 

बैठकमा नेकपा माओवादीबाट वर्षमान पुन र हितराज पाण्डे सहभागी हुनुहुन्छ भने रास्वपाबाट उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछाने, स्वर्णिम वाग्ले लगायतका नेताहरु सहभागी रहेका छन् । 

भोलि (जेठ १५ गते) सङ्घीय संसदमार्फत् आर्थिक वर्ष २०८१–८२ को बजेट सार्वजनिक गर्नुपर्ने भएकाले प्रधानमन्त्री प्रचण्डले सहमतिको प्रयास जारी राखेकाे  प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । 

प्रतिक्रिया