बुद्ध धर्मको महत्व विश्वभर छः परराष्ट्रमन्त्री श्रेष्ठ

राम्रो अनलाइन     १० जेठ २०८१, बिहिबार
बुद्ध धर्मको महत्व विश्वभर छः परराष्ट्रमन्त्री श्रेष्ठ

 

लुम्बिनी– उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले बुद्ध धर्मको प्रचारप्रसार गर्न सके विश्वमा बढ्दो द्वन्द्व र हिंसालाई न्यूनीकरण गर्न सहयोगी हुने धारणा राखेका छन् । २५६८औँ बुद्धजयन्ती एवं लुम्बिनी दिवसका अवसरमा आज यहाँ आयोजित विशेष समारोहमा उनले लुम्बिनीको विकासका लागि अन्तर्राष्ट्रियस्तरमा सरकारले पहल गरिरहेको बताएका छन् । 

कार्यक्रमका सभापति एवं संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङले बृहत्तर लुम्बिनीको गुरुयोजना शीघ्र सफल बनाउने बताउँदै अन्तर्राष्ट्रियस्तरको लगानी सम्मेलन सञ्चालन गर्ने कुरामा जोड दिए ।

लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री जोखबहादुर महराले विश्वकै बौद्ध धर्मावलम्बीको एक पवित्र ठाउँ, एसियाका ज्योतिका रूपमा परिचित विश्वशान्तिका अग्रदूत गौतमबुद्धको जन्मभूमि लुम्बिनी क्षेत्र हुनु प्रदेशका लागि ठूलो गौरवको विषय भएको बताए । उनले धार्मिक पर्यटनको माध्यमबाट यस क्षेत्रमा मात्रै आयआर्जन बढाउन सकिने धारणा राखे ।

नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले बुद्धजन्मस्थल लुम्बिनी बौद्ध धर्मावलम्बीका लागि मात्र नभएर सारा मानव जातिको लागि भएको बताए । संयुक्त राष्ट्रसङ्घका स्थायी प्रतिनिधि हाना सिङ्गर ह्याम्डीले बुद्धजन्मस्थल लुम्बिनी बुद्ध दर्शन फैलाउने उर्वर भूमिको रूपमा रहेको बताउँदै विश्व शान्तिको कामना गरे । नेपालका लागि श्रीलङ्काका राजदूत एयर चिफ मार्सल सुर्दशना पाथिरानाले बुद्ध दर्शन विश्व शान्तिको लागि अत्यन्तै महत्त्वपूर्ण रहेको बताए ।

सो अवसरमा नेपालका लागि थाइल्यान्डका राजदूत सुवापोङ सिरीसनले बुद्ध पूर्णिमाको महत्वबारेमा बताउँदै पवित्र स्थल लुम्बिनीको पावन जन्मभूमिमा आउनु भाग्य भएको जिकिर गरे । बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्सटेक) का महासचिव इन्द्रमणि पाण्डेले विश्वलाई बुद्ध दर्शनको आवश्यकता रहेको बताए । 

कार्यक्रममा लुम्बिनी प्रदेशका सभामुख, प्रतिनिधिसभाका सदस्यहरू, राष्ट्रियसभाका सदस्यहरू, विभिन्न देशका प्रतिनिधि, भिक्षु, भिक्षुणीलगायतको उपस्थिति रहेको थियो । उक्त कार्यक्रममा विभिन्न व्यक्तिलाई सम्मान तथा पुरस्कृतसमेत गरिएको थियो ।

प्रतिक्रिया