मुम्बई– मुम्बईमा होर्डिङ बोर्ड भत्किँदा आठ जनाको मुत्यु भएको छ । सोमबार आएको आधीँ र वर्षामा ठुलो होर्डिङ बोर्ड भत्किँदा भएको दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या आठ पुगेको हो । दुर्घटनामा करिब ६० जना घाइते भएका छन् ।
भारतीय सञ्चार माध्यम अनुसार घाटकोपर (इ) क्षेत्रको समता कोलोनीमा रहेको रेलवे पेट्रोल पम्प नजिकै राखिएको होर्डिङ बोर्ड बेलुका ४ः३० बजे एक्कासि आएको भीषण हावाहुरीले खसेको हो । जुन ७०र५० मिटर ठुलो थियो। हावाहुरीका कारण ठुलो सङ्ख्यामा मानिसहरू पेट्रोल पम्पमा ओत लागेर बसिरहेका बेला होर्डिङ बोर्ड खसेको थियो।
राज्यका मुख्यमन्त्री एकनाथ शिन्देले दुर्घटनास्थलको निरीक्षण गरेपछि दुर्घटनामा घाइते भएका बिरामीलाई भेट्न अस्पताल पुगेका थिए । उनले मुम्बईका सबै होर्डिङको विशेष संरचनात्मक लेखा परीक्षण गरिने बताए ।