शिक्षामा सीप कार्यक्रमले जीवनको रङ्ग पहिचान गर्ने क्षमता विकास भयोः प्रमुख शाह

राम्रो अनलाइन     ३१ वैशाख २०८१, सोमबार
शिक्षामा सीप कार्यक्रमले जीवनको रङ्ग पहिचान गर्ने क्षमता विकास    भयोः प्रमुख शाह


काठमाडौँ– काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले ‘चित्रकला’ र ‘मूर्तिकला’ बाट विद्यार्थीले सीपसँगै जीवनको रङ्ग पहिचान गरेको बताएका छन् । 

सामुदायिक विद्यालयका विद्यार्थीमा जीवनोपयोगी सीप र सिर्जनात्मक क्रियाकलाप देखिनु ‘शिक्षामा सीप’ कार्यक्रमको नतिजा रहेको प्रमुख शाहको भनाइ छ । कामपाले गत वैशाख १२ गतेदेखि सुरु गरेको ‘शिक्षामा सीप’ कार्यक्रमअन्तर्गत सामुदायिक विद्यालयका कक्षा ९ र १० का ‘स्केचिङ एण्ड स्कप्चर’ विषयका विद्यार्थीले कोरेका चित्र र बनाएका मूर्तिको अवलोकन गर्दै प्रमुख शाहले उक्त प्रतिक्रिया दिएका छन् ।  

उनले ‘विद्यालयमा सीप सिकेका विद्यार्थीलाई, एक वडा, एक उद्यम कार्यक्रमसँग जोड्न सकिने पनि बताएका छन् ।  उनले माटोका भाँडा बनाउने विद्यार्थीको सीपको प्रसङ्ग जोड्दै भने, ‘वडा नं ५ मा व्यावसायिक उत्पादनको तहमा पुगेको माटोका भाँडा बनाउने कार्यक्रमसँग जोड्न सकिन्छ ।’

कामपा शिक्षा विभागले ललितकला प्रज्ञा–प्रतिष्ठानको आयोजनामा यही वैशाख २८ गतेदेखि प्रतिष्ठानकै कक्षमा विद्यार्थीले बनाएका चित्र र मूर्ति प्रदर्शनी गरेको थियो । प्रदर्शनीमा ६२४ वटा चित्र र करिब करिब छ सय वटा मूर्ति राखिएका थिए । चित्रमा जनजीवन, पेसा, प्रकृति, जमिन, जनावर र चराचुरुङ्गीका चित्र थिए ।   

मूर्तिकलामा धेरैजसो फूलदानी र बिर्को भएका भाँडाकुँडा थिए । बालबालिकाले घरमा खेलौनाका रुपमा प्रयोग गर्ने आकृतिमा बिरालो, मुसो, मृग, दैनिक जीवनमा आवश्यक पर्ने खाना बनाउने चुलो, तरकारी र खाना बनाउने भाँडा थिए । 

कामपा सहरी योजना आयोगका सदस्य इञ्जिनियर शैलेन्द्र झाका अनुसार विद्यार्थीको सङ्ख्या, रुचि, विद्यालयको परिवेशजस्ता सूचकका आधारमा कक्षा ४ देखि ८ सम्मका विद्यार्थी समावेश गरेर एउटा विद्यालयमा एउटा बाल समूह र विभिन्न १५ वटा उपसमूह गठन गरिएका छन् । 

कक्षा ९ र १० का विद्यार्थीका लागि सञ्चालित ‘शिक्षामा सीप’ कार्यक्रमअन्तर्गत १० वटा विधा राखिएका थिए । उक्त विधामध्ये स्केचिङ् एण्ड स्कप्चर विषयमा ९० घण्टाको तालिमका क्रममा विद्यार्थीले बनाएका चित्र तथा आकृति कला प्रदर्शनमा थिए ।   

यसमा विश्व निकेतन, रत्नराज्य, ज्ञानोदय, तरुण, गीतामाता, कन्या मन्दिर, सहिद शुक्र, पद्मकन्या विद्याश्रम र कोटेश्वर सरस्वती मावि गरी नौ वटा विद्यालयका १९ समूहका विद्यार्थीले बनाएका कला समावेश थिए । 
 

प्रतिक्रिया