शीर्ष नेताले बोल्ने कार्यसूचीमा कांग्रेस असहमत, कार्यव्यवस्था बैठक बस्न सकेन 

राम्रो अनलाइन     २८ वैशाख २०८१, शुक्रबार
शीर्ष नेताले बोल्ने कार्यसूचीमा कांग्रेस असहमत, कार्यव्यवस्था बैठक बस्न सकेन 


काठमाडौं–बजेट अधिवेशनको पहिलो बैठकमा शीर्ष नेताहरुलाई बोल्न दिने कार्यसूचीमा नेपाली कांग्रेसले असहमति जनाएको छ । कांग्रेसको असहमतिका कारण कार्यसूची टुंगो नलाग्दा प्रतिनिधि सभा बैठक प्रभावित भएको छ ।

आज बस्ने तय भएको संसद बैठकका कार्यसूची तय गर्नुअघि सभामुख देवराज घिमिरेले दुई चरणमा प्रमुख सचेतक र सचेतकहरुसँग छलफल गरेका थिए ।

सो छलफलमा कांग्रेस नेताहरुले राष्ट्रपतिको कार्यालयबाट प्राप्त पत्रमात्रै वाचन गर्न दिने, आफ्ना कुरा राख्ने तर शीर्ष नेताहरुलाई बोल्ने कार्यक्रम र नियमित कार्यसूचीमा प्रवेश गर्न नदिने बताएका थिए ।

त्यसमा सहमति नजुटेपछि नेताहरु आ(आफ्ना दलका शीर्ष नेताहरुसँग छलफल गर्न गएका छन् । उनीहरु फर्किएपछि मात्र कार्यव्यवस्थाको बैठक औपचारिक रुपमा बस्ने सभामुखको सचिवालयले जनाएको छ ।

छलफलमा नेपाली कांग्रेसबाट प्रमुख सचेतक रमेश लेखक र सचेतक सुशीला थिङ सहभागी थिए । यसैगरी नेकपा एमालेबाट प्रमुख सचेतक महेश बर्तौला र सचेतक सुनिता बराल तथा नेकपा माओवादी केन्द्रबाट मुख्य सचेतक हितराज पाण्डे र सचेतक रुपासोशी चौधरी सहभागी थिए । रास्वपाबाट प्रमुख सचेतक सन्तोष परियार र राप्रपाका प्रमुख सचेतक ज्ञानेन्द्रबहादुर शाही पनि छुट्टाछुट्टै र सामूहिक छलफलमा थिए ।

प्रतिक्रिया