आयोगले सुरु गर्‍यो नवगठित जनता समाजवादी पार्टीका जनप्रतिनिधिको सनाखत 

राम्रो अनलाइन     २५ वैशाख २०८१, मङ्गलबार
आयोगले सुरु गर्‍यो नवगठित जनता समाजवादी पार्टीका जनप्रतिनिधिको सनाखत 


काठमाडौं–निर्वाचन आयोगले जनता समाजवादी पार्टी, नेपालबाट निर्वाचित भएर नवगठित जनता समाजवादी पार्टी पक्षधरका प्रदेश सभा सदस्य र स्थानीय तहका जनप्रतिनिधिहरूको सनाखत प्रक्रिया सुरु गरेको छ ।

आयोगले मंगलबार एक सूचना जारी गरेर प्रदेश तथा स्थानीय तहका जनप्रतिनिधिको सनाखत प्रक्रिया अगाडि बढाएको हो । नवगठित जनता समाजवादी पार्टीको नेतृत्व अशोक राईले गरेका छन् ।

आयोगले नयाँ दल गठन भएको २१ दिन अर्थात जेठ १३ गतेभित्र प्रदेश सभा सदस्यले प्रदेश निर्वाचन कार्यालयमा प्रदेश निर्वाचन अधिकारी समक्ष र स्थानीय तहका सदस्यले जिल्ला निर्वाचन कार्यालयमा जिल्ला निर्वाचन अधिकारीसमक्ष आफू निर्वाचित भएको सक्कल प्रमाणपत्र र नेपाली नागरिकताको सक्कल प्रमाणपत्र साथमा लिई सनाखतका लागि स्वयं उपस्थित हुनपर्ने जनाएको छ ।

आयोगले राजनीतिक दलसम्बन्धी ऐन, २०७३ र राजनीतिक दलसम्बन्धी नियमावली, २०७४ को नियम ५ बमोजिम आयोगको मिति २०८१।०१।२४ गते जनता समाजवादी नेपाल दलबाट टुक्रिएको नयाँ दललाई जनता समाजवादी पार्टीको मान्यता दिएको थियो ।

प्रतिक्रिया