काठमाडौँ–नयाँ वर्ष विसं २०८१ को सुरूभएदेखि नै दर्शकहरूले नेपाली चलचित्रलाई साथ दिन थालेका छन् । गत वर्ष नेपालमा विदेशी चलचित्रको प्रभाव रहेको र स्वदेशी चलचित्रलाई प्रदर्शकले नै बेवास्ता गरेको आरोप थियो । त्यही आरोप लगाएर केही निर्माताले चलचित्रको प्रदर्शनसमेत स्थगित गरेका थिए । यद्यपि गत वर्षको चैत ९ गतेदेखि सार्वजनिक प्रदर्शन सुरूगरिएको चलचित्र ‘महाजात्रा’ पछि प्रदर्शन गरिएको ‘डिग्री माइला’, ‘बोक्सीको घर’ लाई दर्शकले साथ दिएका छन् ।
‘महाजात्रा’ को यात्रा ५१ औँ दिन उन्मुख छ । लेखक तथा निर्देशक प्रदीप भट्टराईका यसअगाडिका चलचित्रहरूले पनि ५१ औँ दिन पूरा गरेकाले यसपटक पनि त्यो आशा गर्न सकिन्छ । ‘अहिले दर्शकले नेपाली चलचित्रलाई साथ दिइरहनुभएको छ । यसले हामीलाई उत्साहित बनाएको छ । समग्रमा यो चलचित्रका लागि सुखद सुरूआत हो’, निर्देशक भट्टराईले भने ।
चलचित्रमा हरिवंश आचार्य, विपीन कार्की, वर्षा राउत, रवीन्द्रसिंह बानियाँ, रवीन्द्र झा, दिव्य देवलगायतले अभिनय गरेका छन् । डिग्री पास बेरोजगारको कथालाई प्रस्तुत गरिएको रामबाबु गुरुङले निर्देशन गर्नुभएको चलचित्र ‘डिग्री माइला’ तेस्रो सातामा प्रदर्शन भइरहेको छ । यो चलचित्रले रु छ करोडभन्दा बढीको ‘ग्रस कलेक्सन’ गरिसकेको निर्माता मणिराम पोखरेलले जानकारी दिए । युवाको सपना र क्षमतालाई प्रस्तुत गरिएको नाटक ‘डिग्री माइला’कै पात्रबाट प्रभावित भई तयार गरिएको चलचित्रमा दयाहाङ राई शीर्ष भूमिकामा छन्।
‘यो पात्रले हाम्रो समाजको धेरै पक्षलाई देखाएको छ । शिक्षा, समाज, ग्रामीण अवस्था र बेरोजगार युवाको अवस्थालाई माइला पात्रमार्फत व्यक्त गरिएको छ’, अभिनेता राईले भने, ‘यो पात्रलाई नाटकबाट चलचित्रमा ल्याउने सपना बल्ल पूरा भएको छ । अब यो कथा धेरैसम्म पु¥याउनु छ ।’ गत वर्ष चैत ३० गतेदेखि प्रदर्शन गरिएको चलचित्रमा अभिनेता राईसँगै आँचल शर्मा, विजय बराल, बुद्धि तामाङ, माओत्से गुरुङ, प्रकाश घिमिरेलगायत कलाकारले अभिनय गरेका छन् ।
यस्तै, गत वैशाख १४ गतेदेखि प्रदर्शन गरिएको चलचित्र ‘बोक्सीको घर’ लाई पनि दर्शकले उस्तै साथ दिएका छन् । शुक्रबार आधुनिक चलचित्र भवन ९मल्टिप्लेक्स० मा प्राप्त अधिकांश ‘शो’हरू भरिभराउ थिए । शनिबार पनि सोही क्रमले निरन्तरता पायो । विभिन्न चलचित्र भवनमा पुगेर दर्शकसँग साक्षात्कार गरिरहनुभएकी अभिनेत्री केकी अधिकारी दर्शको उत्साहजनक उपस्थिति देखेर दङ्ग छिन्।
‘सुरुआती समयमै हामीलाई विश्वास गरेर दर्शक हलसम्म आइ्हन्भएको छ । यसले हामीले पनि जिम्मेवारी बढेको महसुस गरेका छौँ । दर्शकले मनोरञ्जनसँगै सन्देश पनि पाउनु भएको छ’,अभिनेत्री अधिकारीले भनिन् । सुलक्षण भारतीको लेखन तथा निर्देशन गरेको चलचित्रमा थपलिया, सुपला सापकोटा, स्वेच्छा राउत, सुष्मा निरौला, सबिन बाँस्तोलालगायत कलाकारले अभिनय गरेका छन्।
केही समययता नेपाली चलचित्रमा दर्शकको उपस्थिति उत्साहजनक हुनु सुखद पक्ष रहेको वितरक करण श्रेष्ठले बताए । उनले भने, ‘विदेशी चलचित्रको उपस्थिति कमहुनु र नेपाली चलचित्रमा सुरुआती व्यापार नै उत्साहजनक हुनुले यो वर्ष राम्रो हुने सङ्केत गरेको छ । दर्शकलाई चलचित्र मन पर्दासम्म अब समय मिल्दा नेपाली चलचित्रमै आउनुहुन्छ भन्ने हाम्रो अनुमान छ ।’ नेपाली चलचित्रमा केही समयसम्म यसरी नै दर्शक देखिए यो वर्ष विदेशी चलचित्रलाई विस्थापित गर्दै नयाँ रेकर्ड बन्नसक्ने उनको विश्लेषण छ ।