काठमाडाैं– दुई दिने नेपाल भ्रमण सकेर कतारका राजा अमिर शेख तमिम बिन हमाद अल थानी स्वदेश फिर्ता भएका छन्। राष्ट्रपति रामचन्द्र पौडेलको निमन्त्रणमा मंगलबार नेपाल भ्रमणमा आएका थानीलाई बुधबार राष्ट्रपति रामचन्द्र पौडेलले त्रिभुवन विमानस्थल पुगेर विदाई गरेका हुन्।
राष्ट्रपति पौडेलको औपचारिक निमन्त्रणामा थानी राजकीय भ्रमणका लागि मंगलबार काठमाडौं आएका थिए। उनको स्वागतमा पनि राष्ट्रपति, उपराष्ट्रपति र प्रधानमन्त्री विमानस्थलमा पुगेका थिए । उनले सोही दिन राष्ट्रपति पौडेललाई भेटेका थिए । बुधबार बिहान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उनीसँग भेटवार्ता गरेका थिए।
नेपाल र कतारबीच सन् १९७७ जनवरी २१ मा कूटनीतिक सम्बन्ध स्थापना भएपछि कतारका अमिरको यो पहिलो नेपाल भ्रमण हो। नेपालले सन् २००० जुलाई ११ मा दोहामा राजदूतावास स्थापना गरेको थियो भने कतारले काठमाडौँमा आफ्नो राजदूतावास सन् २०११ अगस्टमा स्थापना गरेको थियो।