होली रङ लगाउन गएका २ को झडपमा मृत्यु 

राम्रो अनलाइन     १६ चैत २०७७, सोमबार
होली रङ लगाउन गएका २ को झडपमा मृत्यु 

बागलुङ । बागलुङको बडिगाड गाउँपालिका र प्युठानको सिमानामा रहेको बल्देधुरीमा आयोजित होली मेलामा झडप हुँदा २ जनाको मृत्यु भएको छ । मेलामा बिहानैबाट होली खेल्ने, रङ लगाइदिने, पानी छ्याप्ने, गर्न निसिखोला, बडिगाड तथा प्युठानका मानिस त्यहाँ जम्मा भएका थिए । त्यही भिडमा झगडा हुँदा २ को मृत्यु भएको हो । 

होली खेल्न बल्देधुरी पुगेका निसिखोलका ३६ वर्षीय प्रकाश कुँवर र ३४ वर्षीय दीपक दमाइको ज्यान गएको हो । मेलामा झगडा भएपछि उनीहरुलाई भीरबाट धकेलिएको थियो । भीरबाट खसालेर मारिएको भनेर प्रत्यक्षदर्शीले भनेको निसिखोला–९ का वडाध्यक्ष तेजेन्द्र कुँवरले बताए । 

साँझ ५ बजेपछि रङ दल्ने क्रममा केही युवाबीच झगडा मिलाउन प्रकाश  त्यहाँ पुगेका थिए । झगडा मिलाउन त्यहाँ पुगेका प्रकाशमाथि नै ती युवाहरु जाइ लागे । उनीहरुमात्रै जाइ लागेनन्, अरु पनि त्यहाँ थपिए । दीपक भने प्रकाशसँगै झगडा भएको ठाउँ पुगेका थिए । ‘उनीहरु झगडाको मनस्थितिले नगए पनि निर्घात कुटेर धकेलिदिएको कुँवरले बताए । 

वडाध्यक्ष कुँवरले ती थपिएका पुरुषहरुले राजनीतिको विषय उठाएको बताउँछन् । माओवादीका कार्यकर्ताले पहिला झगडा साँधेर लाठीले पिटेको कुँवरले बताए । प्रकाश कांग्रेस बागलुङ जिल्ला कार्यसमिति सदस्य हुन् भने दीपक कांग्रेस कार्यकर्ता हुन् । 

कुँवरका अनुसार यसअघि पनि पटकपटक माओवादीका कार्यकर्ता र उनीहरुबीच भनाभन हुने गरेको थियो । तर हताहत भएको भने यो पहिलो पटक हो । घटनामा अझै कांग्रेसका १२–१५ जना बेपत्ता रहेको कुँवरले बताए । 

जिल्ला प्रहरी कार्यालय, बागलुङले भने अहिले घटनास्थलमा आफूहरुको टोली पुगेको र अनुसन्धान भइरहेको बताएको छ । आइतबार बल्देधुरीमा पिकनिकको योजना रहेको र पिकनिकमै झगडा भएको सूचना आफूहरुले पाएको बागलुङ प्रहरी प्रमुख कृष्णबहादुर पल्ली मगरले बताए ।  २ जनाको शव खोंचमा भेटिएको र अरुबारे पनि खोजतलासी भइरहेको मगरले जनाए । 

प्रतिक्रिया