‘गणतन्त्र गौरव सम्मान’ पूर्वराष्ट्रपति भण्डारीलाई

राम्रो अनलाइन     ०९ वैशाख २०८१, आइतबार
‘गणतन्त्र गौरव सम्मान’ पूर्वराष्ट्रपति भण्डारीलाई

काठमाडौँ–नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई ‘गणतन्त्र गौरव सम्मान’ प्रदान गर्ने भएको छ ।  ललितपुरको गोदावरीस्थित सनराइज सभाहलमा आज सम्पन्न एमालेको राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् बैठकले एमाले पार्टीका पूर्वउपाध्यक्ष रहेकी भण्डारीलाई सम्मान गर्ने प्रस्ताव पारित गरेको एमालेका पोलिटब्यूरो सदस्य खिमलाल भट्टराईले जानकारी दिए। 

नेपाल कम्युनिष्ट पार्टी स्थापना भएको ७५औँ बर्ष (हीरक महोत्सव) का अवसरमा यही वैशाख १० गते हुने विशेष समारोहमा उक्त सम्मान पूर्वराष्ट्रपति भण्डारीलाई प्रदान गरिने छ । 

नेता भट्टराईका अनुसार आजको परिषद् बैठकको अध्यक्षता गरेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले हीरक महोत्सवमा मुलुकको लोकतान्त्रिक आन्दोलनमा, कम्युनिष्ट आन्दोलनमा योगदान पुर्‍याउनु भएको, राष्ट्रिय स्वाभिमान रक्षाका खातिर अडान लिएका व्यक्तिहरुलाई सम्मान गर्ने घोषित योजना रहेको र सो योजनाअनुसार पार्टीका पूर्वउपाध्यक्ष एवम् दुई–दुईपटक गणतन्त्र नेपालको निर्वाचित भएको व्यक्ति पूर्वराष्ट्रपति भण्डारीलाई सम्मान गर्ने प्रस्ताव प्रस्तुत गरेका  थिए।  उक्त प्रस्तावलाई सर्वसम्मतिमा पारित गर्ने निर्णय गरेको थियो । 

एमालेले कम्युनिष्ट पार्टी स्थापना भएको अवसरमा विशेष समारोहको आयोजना गर्ने प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए । उनका अनुसार महोत्सवको प्रमुख अतिथि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ रहेका छन् । महोत्सवमा एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरवहादुर देउवालगायत विभिन्न राजनीतिक दलका प्रमुख नेताहरुले सम्बोधन गर्ने जनाइएको छ ।
 

प्रतिक्रिया