सरकारले निजी क्षेत्रलाई अर्थतन्त्रको मुख्य साझेदारको रुपमा लिएको छ

राम्रो अनलाइन     २८ चैत २०८०, बुधबार


काठमाडौँ–उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले देशको अर्थतन्त्रको मुख्य सम्बाहकका रुपमा रहेको निजी क्षेत्रले उत्पादन वृद्धि, रोजगारी सिर्जनालगायतका क्षेत्रमा महत्वपूर्ण योगदान पुर्‍याएको बताए। निजी क्षेत्रको क्रियाशीलता बिना मुलुकको समृद्धिको आकांक्षा पूरा हुन नसक्ने पनि उनले स्पष्ट पारे । सरकारले निजी क्षेत्रलाई अर्थतन्त्रको मुख्य साझेदारको रुपमा लिएको पनि उनको भनाइ छ ।

सरकारले नेपालमा उद्योग, व्यापारको वातावरण बनाउन आवश्यक नीतिगत र कानुनी सुधारका लागि निजी क्षेत्रको सल्लाहमा कानुन बनाउने काम अघि बढेको भन्दै उनले सार्वजनिक निकायमा स्वदेशी वस्तुको प्रयोगसम्बन्धी नीति बनाएर अभियानको रुपमा सञ्चालन गरिएको बताए । उद्योगमन्त्री भण्डारीले यस अभियानमा सरकारले निजी क्षेत्रको साथ चाहेको बताए।

‘सरकारले औद्योगिक नीति, वाणिज्य नीति, व्यापार तथा लजिस्टिक नीति, स्टार्टअप नीति, घरेलु तथा मझौला उद्योग प्रवद्र्धन नीति, आपूर्ति नीति, बौद्धिक सम्पत्ति नीतिलगायतका नीतिलाई समयानुकल परिमार्जन गर्दै गएको छ । स्वदेशी उत्पादनलाई संरक्षण गर्ने र तुलनात्मक लाभका क्षेत्र पहिचान गरेर निर्यात प्रवद्र्धनका लागि सबै पक्षले भूमिका खेल्नुपर्छ’, उनले भने। स्वदेशी उद्योगको प्रतिस्पर्धात्मक क्षमता विकास गरिनुपर्नेमा पनि उद्योगमन्त्री भण्डारीले जोड दिनुभयो।
 

प्रतिक्रिया