सन्दीपको मुद्दामा झगडिया झिकाउने आदेश

राम्रो अनलाइन     २३ चैत २०८०, शुक्रबार
सन्दीपको मुद्दामा झगडिया झिकाउने आदेश


काठमाडौँ–उच्च अदालत पाटनले बलात्कार मुद्दामा दोषी ठहर भएका क्रिकेटर सन्दीप लामिछानेको मुद्दामा झगडिया झिकाउन आदेश दिएको छ । मुख्य न्यायाधीश नृपध्वज निरौला र न्यायाधीश कृष्णराम कोइरालाको संयुक्त इजलासले आजको सुनुवाइपछि जिल्ला अदालत काठमाडौँको फैसला बदर माग गर्दै दायर गरेको रिटमा उक्त आदेश दिएको हो । जिल्ला अदालत काठमाडौँले गत पुस २५ गते बलात्कार मुद्दामा दोषी ठहर भएका क्रिकेटर लामिछानेलाई आठ वर्ष जेल सजाय, जरिवाना र क्षतिपूर्ति गरी रु पाँच लाख भराउने फैसला सुनाएको थियो । उक्त फैसलाविरुद्ध लामिछानेले उच्च अदालत पाटनमा पुनरावेदन गरेका थिए ।

पुनरावेदन गरिएको मुद्दामा अदालतले अर्को पक्षलाई सूचना दिएर बोलाउने प्रक्रियालाई झगडिया झिकाउने भनिन्छ । अदालतले उक्त मुद्दामा आगामी वैशाख ३ गते दुवै पक्षलाई झिकाउन आदेश दिएको छ ।  लामिछानेविरुद्ध २०७९ भदौ २१ गते बालिका बलात्कार गरेको उजुरी परेपछि प्रहरीले उनलाई त्यही वर्ष असोज २० गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको थियो ।
 

प्रतिक्रिया