महराको बयान सकियो, पुनः म्याद थप हुने वा हाजिरी जमानी छुट्ने आज टुंगो लाग्ने 

राम्रो अनलाइन     ०९ चैत २०८०, शुक्रबार
महराको बयान सकियो, पुनः म्याद थप हुने वा हाजिरी जमानी छुट्ने आज टुंगो लाग्ने 


काठमाडौं– सुन तस्करी प्रकरणमा जोडिएको आरोपमा पक्राउ परेका माओवादी केन्द्रका उपाध्यक्ष तथा पूर्वसभामुख कृष्णबहादुर महराको बयान सकिएको छ ।प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) र जिल्ला सरकारी वकिल कार्यालय काठमाडौं दुबैले महराको बयान सकाएका छन् । सीआईबीका एसपी तथा प्रवक्ता होविन्द्र बोगटीले महराको बयान सकिएको अनलाइनखबरलाई बताए । ‘सरकारी वकिल कार्यालय र सीआईबी दुबैतर्फबाट बयान तथा सोधपुछका कामहरु सकिएका छन्,’ एसपी बोगटीले भने ।

कपिलवस्तुबाट गत सोमबार पक्राउ परेका महराविरुद्ध अनुसन्धान गर्न प्रहरीले जिल्ला अदालत काठमाडौंबाट चार दिनको म्याद पाएको थियो । उक्त म्याद बिहीबार सकिएको छ । आज शुक्रबार महराको म्याद थप गर्ने वा स्वास्थ्यका कारण हाजिरी जमानी छाड्ने भन्नेबारे टुंगो लाग्ने सीआईबीले जनाएको छ ।

अदालतले समेत महराको स्वास्थ्य अवस्थालाई कारण देखाउँदै अस्पताल भर्ना गर्नु भन्ने आदेश दिएको थियो । अहिले पनि महरा बिरामी नै रहेकाले हाजिरी जमानीमा छाड्नुपर्ने महराका वकिलहरुले तर्क राखेका छन् ।

पूर्वन्यायाधीश डिल्लीराज आचार्य नेतृत्वको सुन तस्करी जाँचबुझ आयोगले मुद्दा चलाउनुपर्ने सिफारिस गरेपछि सीआईबीले महरालाई कपिलवस्तुबाट गत सोमबार पक्राउ गरेर काठमाडौं ल्याएको थियो । काठमाडौं जिल्ला अदालतले महरालाई ४ दिन हिरासतमा राख्न प्रहरीलाई अनुमति दिएको थियो । उनी बिरामी भएकाले नर्भिक अस्पतालमा भर्ना भएका थिए ।

जाँचबुझ आयोगले सुन तस्करीमा जोडिएका चिनियाँ नागरिक दावाजिन वाङसँगको फोन सम्पर्क र अन्य परिस्थितिजन्य प्रमाण भेटिएको भन्दै महरामाथि कारबाही गर्न सफारिस गरेको थियो । १ चैतमा उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेलाई आयोगले बुझाएको ४८५ पृष्ठ लामो प्रतिवेदन अहिले सीआईबीले अध्ययन गरिरहेको छ ।

यसअघि आयोगले २५ माघमा सिंहदरबारस्थित कार्यालयमा बोलाएर महरासँग बयान लिएको थियो । उक्त बयानका क्रममा समेत महराले दाओजिन वाङसँग आफ्नो सम्पर्क रहेको समेत स्वीकार गरेका थिए ।

त्यस्तै विद्युतीय चुरोट भेपमार्फत भएको ९ किलो सुन तस्करीमा समेत विमानस्थलका कर्मचारीलाई फोन गरेको विषय महराले स्वीकार गरेका थिए । भेपमार्फत भको सुन प्रकरणमा समेत महराले गत १५ असोजमा सीआईबीमा बयान दिएका थिए । दाओजिनसँग आफ्नो पुरानो चिनजान रहेको महराले सीआईबी समक्ष स्वीकारेका थिए ।

महराले वाङलाई आफूले फलफूल व्यापारीको रूपमा चिनेको र उनले भन्सारमा सामान रोकियो भनेपछि तत्कालीन भन्सार प्रमुख अरुण पोखरेललाई फोन गरेको तर सुन तस्करीबारे जानकारी नै नभएको बयान दिएका थिए ।

भेपमार्फत नै भएको ९ किलो सुन तस्करी प्रकरणमा सीआईबीले महराका छोरा राहुललाई पक्राउ गरेर मुद्दा चलाएको थियो । उनी अहिले पुर्पक्षमा थुनामा छन् ।

प्रतिक्रिया