योजनाविना गरिएका विकास परिणाममुखी हुँदैनन् : मुख्यमन्त्री गुरुङ

राम्रो अनलाइन     ११ चैत २०७७, बुधबार
योजनाविना गरिएका विकास परिणाममुखी हुँदैनन् : मुख्यमन्त्री गुरुङ


दमौली, ११ चैत 
गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले योजना विना गरिएका विकास परिणाममुखी नहुने भएकाले योजना बनाएर मात्रै काम गर्न आग्रह गरेका छन् । 

तनहुँको बन्दीपुर गाउँपालिकाको २० वर्षीय एकीकृत विकास गुरुयोजनाको आज सार्वजनिक गर्दै उनले  योजना र अध्ययनविना अन्धाधुन्ध गरिने कामले आर्थिक स्रोतको मात्रै नोक्सानी गर्ने बताए । 

मुख्यमन्त्री गुरुङले आवधिक योजना निर्माण गरेर अगाडि बढ्न सबै स्थानीय तहलाई अनुरोध गरे पनि केहीले् मात्र उक्त काम गरेको बताए । “गण्डकी प्रदेशका ८५ मध्ये १९ स्थानीय तहले मात्रै आवधिक योजना बनाएका रहेछन्, सबै पालिकालाई आवधिक योजना बनाएर विकास निर्माणका काम गर्न अनुरोध गरेका छौँ”, मुख्यमन्त्री गुरुङले भने, “योजनाविना गरिएका कामले सार्थक परिणाम दिँदैन ।” उनले गुरुयोजना बनाएर मात्र नहुने बरु त्यसको सही कार्यान्वयनमा जोड दिनुपर्ने उल्लेख गरे । 

तीन तहको सरकारबीच समन्वय र सहकार्यले मात्र मुलुक समृद्धिको बाटोमा हिँड्न सक्ने उल्लेख गर्दै उनले  स्रोत साधनको पहिचान गरेर बन्दीपुर गाउँपालिकाले गण्डकी प्रदेशको समृद्धिमा महत्वपूर्ण योगदान दिनसक्ने बताए ।

गण्डकी प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री हरिबहादुर चुमानले बन्दीपुरले विकासको गोरेटे कोरेको बताउँदै अब आउने जनप्रतिनिधिले पनि त्यही बाटो समात्नुपर्नेमा जोड दिए । भौतिक पूर्वाधारसँगै सामाजिक, आर्थिक, सांस्कृतिक पक्षको विकासलाई प्राथमिकतामा दिनुपर्ने उनको भनाइ थियो ।

गण्डकी प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष डा. गिरीधारी शर्माले पर्यटनलाई उत्पादनसँग जोडेर अगाडि बढ्नुपर्ने बताए । गुरुयोजना निर्माण समितिका संयोजक हेमराज लामिछानेले बन्दीपुर घर भई काठमाडौँ, चितवनलगायत अन्यत्र बस्ने व्यक्तिसँग पनि सुझाव सङ्कलन गरी गुरुयोजना बनाइएको जानकारी दिए । 

गाउँपालिकाले निर्माण गरेको गुरुयोजनाले पर्यटन, कृषि तथा पशुपक्षीजन्य, लघुउद्यम, भौतिक पूर्वाधार र सांस्कृतिक सम्पदाको संरक्षणलाई एकीकृत गर्दै समृद्ध बन्दीपुर र सुखी बन्दीपुरवासीको परिकल्पना गरेको अध्यक्ष पूर्णसिं थापाले जानकारी दिए । गाउँपालिकाले समग्र बन्दीपुरको विकासको सम्भावना पर्यटन व्यवसायबाट हुने विश्वास लिएको बताउँदै उहाँले पर्यटनलाई कृषि र जीविकोपार्जनका अन्य व्यवसायसँग एकीकृत गर्न खोजिएको उल्लेख गरे । 

बन्दीपुरको प्राकृतिक सौन्दर्य र उर्भरा भूमिमा परिश्रमी र न्यायप्रेमी जनताको मेहनत थप समाहित हुँदा दिगो आर्थिक विकाससहितको समृद्धि हासिल गर्न सकिने गाउँपालिकाका उपाध्यक्ष करुणा गुरुङले बताए । 

प्रतिक्रिया