जसपा र जनमत आन्तरिक छलफलमा

राम्रो अनलाइन     २३ फागुन २०८०, बुधबार
जसपा र जनमत आन्तरिक छलफलमा

काठमाडौँ– जनता समाजवादी पार्टी (जसपा)नेपालले वर्तमान गठबन्धन सरकारमा सहभागी हुने मन्त्रीलगायत मुलुकको समसामयिक विषयमा विचार–विमर्श गरेको छ ।

पार्टीको आज बसेको कार्यकारिणी समिति बैठकले सरकारमा सहभागी हुने मन्त्री तथा सरकारमा सहभागी हुँदा पार्टीको मुद्दा र अडानबारे पार्टीका नेताहरुबीच छलफल गरेको हो । बैठकमा मधेस प्रदेश सरकारको सुनिश्चिततालगायत विषयमा नेताहरुले आफ्नो धारणा राखेको जसपाका प्रवक्ता मनिष सुमनले जानकारी दिए । 

‘आजको बैठकमा सबै नेताहरुले मधेस प्रदेश सरकारको निरन्तरताको प्रत्याभूति खोज्नुभयो भने सोहीअनुरुप आफ्नो धारणा पनि राख्नुभयो । परिस्थिति अत्यन्तै तरल छ, यसको टुङ्गो लागेपछि मात्रै पार्टी निर्णयमा पुग्छ’, उनले भने । प्रवक्ता सुमनका अनुसार सत्ता साझेदार दलको बैठकको निर्णयपछि पार्टीले पुनः बैठक बसेर आधिकारिक निर्णय गर्नेछ । 
    
जनमत पार्टीले पनि मधेस प्रदेश सरकारको विषयमा टुङ्गो लागेपछि थप निर्णय गर्ने भएको सो पार्टीका प्रवक्ता डा शरद्सिंह यादवले बताए । उनले भने, ‘मधेस प्रदेशको मुख्यमन्त्री हाम्रो ‘बटममलाइन’ हो । पुरानो सम्झौताअनुसार नै अघि बढ्नुपर्छ भन्ने धेरैको धारणा छ ।’
 

प्रतिक्रिया