मधेस प्रदेशः १९ लाख बालबालिकालाई दादुराविरुद्धको खोप

राम्रो अनलाइन     १३ फागुन २०८०, आइतबार
मधेस प्रदेशः १९ लाख बालबालिकालाई दादुराविरुद्धको खोप

जनकपुरधाम– सरकाकरले आजदेखि सुरु गरेको दादुरारुबेलाविरुद्धको खोप अभियानअन्तर्गत मधेश प्रदेशका आठ जिल्लाका १९  लाख  ४७  हजार एक सय ४२ जना बालबालिकालाई खोप लगाइने भएको छ । 

आज जनकपुरधाम  उपमहानगरपालिका– २३ स्थित श्रीराम लक्ष्मण राष्ट्रिय प्राथमिक विद्यालाय केन्द्रबाट उपमहानगरप्रमुख मनोजकुमार साह र मधेस प्रदेश स्वास्थ्य निर्देशनालयका प्रमुख  डा राजीवकुमार झाले खोप अभियानको शुभारम्भ गरे । 

त्यसअवसरमा निर्देशनालय प्रमुख झाले मधेस प्रदेशका आठ जिल्लामा नौ महिनादेखि १५ वर्ष उमेर समूहका १९  लाख  ४७  हजार एक सय ४२ जनालाई खोप लगाइने जानकारी दिए । राष्ट्रिय अभियानअन्तर्गत आजदेखि आगामी चैत ७ गतेसम्म प्रदेशका एक सय ३६ पालिकाका सबै एक हजार ७१ वडामा ११ हजार ३ सय ४६ केन्द्रबाट खोप लगाउने व्यवस्था गरिएको जानकारी दिए । त्यसका लागि १५ हजार पाँच सय ८४ खोप कार्यकर्ता र त्यति नै सङ्ख्यामा स्वयंसेवक परिचालन गरिएको पनि उनले बताए । 

त्यस्तै, स्वास्थ्य निर्देशनालयमा १० मात्रा भएको दुई लाख ५१ हजार सात सय ९८ भाइल, २१ लाख ९४ हजार सिरिन्ज र २१ लाख ९६ हजार घोलक सिरिञ्ज नेपाल सरकारकारमार्फत प्राप्त भएको  पनि  जानकारी दिइयो । 

अभियान सफल पार्न सरकारबाट जिल्लास्तरमा कार्यक्रम खोप कार्यक्रम सञ्चालनका निम्ति रु छ करोड ८९ लाख १८ हजार र स्वास्थ्य निर्देशनालयलाई कार्यक्रम गर्न रु दुई लाख १३ हजार नौ सय प्राप्त भएको पनि निर्देशनालयले जनाएको छ ।

 जनकपुरधाम उपमहानगर प्रमुख साहले मधेस प्रदेशका जिल्लाहरू दादुरारुबेलाको  जोखिममा रहेकाले अभियानबाट लाभ लिन नगरबासीलाई आग्रह गरे । सरकारले सन् २०२६ सम्ममा नेपालबाट दादुरा रुवेला रोग उन्मूलन गर्ने लक्ष्यका साथ अभियान सुरु गरेकाले ढुक्कका साथ आफ्ना बालबालिकालाई नजिकको खोप केन्द्रमा लिनसमेत अनुरोध गरे । 

यसैगरी, वडा नं २३ का अध्यक्ष राघबेन्द्र साहले आफ्नो वडामा रहेका लक्ष्यित दुई छ सय ५१ बालबालिकालाई खोप लगाउने बन्दोबस्त मिलाइएको बताए ।

प्रतिक्रिया