बागमती प्रदेश संसद् सञ्चालन गर्न सर्वदलीय बैठक बस्दै

राम्रो अनलाइन     १३ फागुन २०८०, आइतबार
बागमती प्रदेश संसद् सञ्चालन गर्न सर्वदलीय बैठक बस्दै

मनहरी– बागमती प्रदेशमा संसद् सञ्चालनका लागि सभामुख भुवनकुमार पाठकले सर्वदलीय बैठक बोलाएका छन् । प्रदेशसभा बैठक सञ्चालनका सन्दर्भमा दलबीच सहमति गर्न प्रदेशसभा सचिवालय हेटौँडाले सर्वदलीय बैठक आइतबार बोलाइएको हो । बैठक प्रदेशसभा सचिवालयमा नै बस्ने जनाइएको छ । 
  
प्रदेशसभाका सबै दलबीच सहमति गर्ने उद्देश्यअनुसार आज सर्वदलीय बैठक बस्न लागेको हो । प्रदेशसभा सञ्चालन, संसद्को कार्यसूची, संसद्को विजनेशलगायत विषयमा निर्णय गर्न सभामुख पाठकले सर्वदलीय बैठक आह्वान गरेका हुन् । प्रदेशसभा सचिवालय हेटौँडाका प्रवक्ता मनोजकुमार गुप्ताका अनुसार सर्वदलीय बैठकमा निर्णय नभएका खण्डमा प्रदेशसभाको आगामी फागुन १५ गते आह्वान गरिएको बैठकले निरन्तरता पाउनसक्ने छैन । संसद्मा पर्याप्त विजनेश नरहेको र नयाँ विधेयक पनि दर्ता नभएको अवस्थामा सदनको व्यवस्थापन, कार्यसूची र मापदण्ड निर्माण गरी सबै दलको सहमति जुटाएर अघि बढ्ने तयारी रहेको उनले बताए ।
   
विशेषतः संसद्मा नयाँ विधेयक दर्ता गर्ने, संसद् बैठकको व्यवस्थापन, कार्यसूचीलगायतका विषयमा सहमति गर्नुपर्ने उनको भनाइ छ । हाल तीन वटा विधेयक विभिन्न समितिमा विचाराधीन अवस्थामा रहेको छ भने एउटा सचिवालयमा दर्ता भएको उनले बताए । सर्वदलीय बैठकमा सहमति नबनेका खण्डमा सो विधेयक अघि बढ्न नसक्ने र समितिका बैठक पनि सञ्चालन नहुने प्रवक्ता गुप्ताले बताए । 
 
विगत चार महिनादेखि प्रदेशसभा बैठक बस्न सकेको छैन भने संसद् नबस्दा संसदीय समितिको नेतृत्व चयन, कानुन निर्माणलगायत विषय अघि बढ्न सकेको छैन । गत असोज २२ गतेदेखि प्रदेशसभा बैठक बस्न सकेको छैन । असोज २२ गते संसद्को वर्षे (बजेट) अधिवेशन अन्त्य गरिएको चार महिना पूरा भइसकेको छ ।   
   
प्रदेश प्रमुख यादवचन्द्र शर्माले फागुन १५ गते ३ बजेका लागि प्रदेशसभा बैठकको हिउँदे अधिवेशन आह्वान गरेका छन् । प्रदेश प्रमुख शर्माले बागमती प्रदेश सरकारको मन्त्रिपरिषद्को सिफारिसमा नेपालको संविधानको धारा १८३ उपधारा १ बमोजिम प्रदेशसभाको तेह्रौँ अधिवेशन  बोलाएका हुन्।
 

प्रतिक्रिया