काठमाडौँ–नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले संसद्मा कुनै पनि अवरोध नगरी संयमता र धैर्यताका साथ प्रस्तुत हुन प्रतिपक्षी दलहरुलाई आग्रह गरेका छन्। प्रतिनिधिसभाको आजको दोस्रो बैठकको प्रारम्भमा सम्बोधन गर्दै उनले संसद्लाई बढीभन्दा बढी प्रभावकारी बनाउन अनुरोध गरे।
जनताले यही संसद्बाट मुलुकको समृद्धिको आशा राखेका उल्लेख गर्दै सांसद लेखकले सदनलाई स्वस्थ्य, सभ्य, मर्यादित र जिम्मेवारी बनाउन आग्रह गरे । ‘सदन प्रभावकारी हुन सकेन भने त्यसको प्रत्यक्ष प्रभाव सरकारमाथि पर्न सक्छ । सरकार पनि निष्प्रभावी बन्न सक्छ । संसद्को प्रभाव संविधान र व्यवस्थामाथि पर्न सक्छ’, उनले भने।
संसद्मा आलोचना, प्रतिआलोचना र घोचपेच हुने उल्लेख गर्दै सांसद लेखकले यी विषयलाई सामान्यरुपमा लिनुपर्ने बताए । संसद्मा सबै सांसद आफ्ना कुरा राख्नका लागि धैर्य र अरुका कुरा सुन्नका लागि संयमित हुनुपर्छ भन्दै उनले भने, ‘सदनभित्र प्रतिपक्षले सरकारले आलोचना गर्छ, माग गर्छ, त्यो प्रतिपक्षको धर्म हो । प्रतिपक्षले आलोचना गर्यो भनेर सत्तापक्ष आक्रोशित हुनुपर्दैन ।’
प्रतिपक्षी सरकार कुरिरहेको पार्टी हो भन्दै प्रमुख सचेतक लेखकले प्रतिपक्षका बारेमा पनि सत्तापक्षका केही धारणा रहेको हुनसक्ने र त्यो अभिव्यक्ति हुँदैमा प्रतिपक्षी आतङ्कित हुनु नपर्ने बताए । ‘सरकारले चालु अधिवेशनमा धेरै विधेयक तयारी गरेको छ । यो अधिवशेनबाट धेरै विधेयक पारित गर्नुछ । जनतालाई यही संसद् र व्यवस्थाले हित गर्नसक्छ भन्ने विश्वास दिलाउनु छ । हामी सबै मिलेर अगाडि बढ्नुपर्छ’, उनले भने।
नेकपा (एमाले) का सचेतक महेश बर्तौलाले सरकारसँग जोडिएका विषयमा प्रतिपक्षले सरकारको जवाफ माग गरेको उल्लेख गर्दै त्यसको प्रतिरक्षाको तहमा कुनै सांसद उभिन नहुने बताए। उनले अब बस्ने बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिपक्षी दलले उठाएका सरोकारका विषयमा सम्बोधन गर्नुपर्ने बताए।