काठमाडौँ– बालकुमारी घटनालाई लिएर सांसदहरुले गृहमन्त्री नारायणकाजी श्रेष्ठ र भौतिक पूवाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाको राजीनामा माग गरेका छन् ।
आज (बिहिबार) बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै नेकपा एमालेका सांसद रघुजी पन्त, राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद विराजभक्त श्रेष्ठ तथा राप्रपाका सांसद ज्ञानेन्द्र शाहीले घटनामा मन्त्रीहरुको भूमिका देखिएको भन्दै राजीनामा माग गरेका हुन् ।
बिहीबार प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले), राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), राष्ट्रिय प्रजातन्त्र पार्टी लगायतले संसद बैठक केहीबेर अवरोध गरेका थिए। प्रतिपक्षी दलका नेताहरू उभिएर विरोध जनाएका थिए। विरोध गरेपछि सभामुख देवराज घिमिरेले प्रतिपक्षी दलका नेताहरूलाई बोल्न समय दिएका थिए।
रघुजी पन्तले बालकुमारी घटना भएकै दिन मन्त्री ज्वालाले राजीनामा दिएको भए नैतिकता देखिने हुने बताए। तर राजीनामा नदिएर नैतिकता नदेखाएको उनले बताए।
त्यस्तै, विराजभक्त श्रेष्ठले पनि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले तीन दिनदेखि घटनाको छानबिन प्रतिवेदन अध्ययनमै रहेको भन्दै प्रश्न गरे। यस्तै राप्रपाका सांसद शाहीले प्रधानमन्त्रीलेनै बालकुमारी घटनामा हत्या भएको अभिव्यक्ती दिएकाले हत्याको आदेश दिने गृहमन्त्री, घटनास्थलमा जाने भौतिक मन्त्री र गोली हान्ने डिएसपीलाई पक्राउ गरी जेल किन नहालेको भन्ने प्रश्न गर्दै जेल हाल्नु पर्ने बताए ।