मोरङ– बन्द अवस्थामा रहेको विराटनगर जुट मिल्समा आगलागी भएको छ । मुलुकको पुरानो जुट मिल्समा मंगलबार राति भएको आगलागीमा करिब २० लाख रुपैयाँ बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय, मोरङले जनाएको छ।
आगलागीका कारण मिल्सको ३ वटा मेसिनमा क्षति पुगेको छ। राति ९ बजेबाट सुरु भएको आगलागी आज बिहान १ बजे नियन्त्रणमा आएको थियो । आगलागी नियन्त्रणका लागि विराटनगर महानगरपालिकाको वारुणयन्त्र, नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीय बासिन्दाको सहयोग रहेको थियो।
पछिल्लो समय रकम भुक्तानीको विषयलाई लिएर श्रमिक र व्यवस्थापनबीच विवाद रहेको छ। बन्द उद्योगमा कसरी आगलागी भयो भन्ने खुलेको छैन । कसैले आगो लगाएको जस्तो देखिएको र घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।