बालकुमारी घटनाको प्रतिवेदन बुझ्दैछु, अध्ययन गरेर कारबाही गर्छु : प्रधानमन्त्री

राम्रो अनलाइन     ०६ फागुन २०८०, आइतबार
बालकुमारी घटनाको प्रतिवेदन बुझ्दैछु, अध्ययन गरेर कारबाही गर्छु : प्रधानमन्त्री

काठमाडौँ– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बालकुमारी घटनाबारे प्रतिवेदन बुझेपछि आवश्यक कारबाही गर्ने बताएका छन्। 

आइतबार बालकुमारी घटनाबारे प्रतिनिधि सभामा उठेको प्रश्‍न सम्बन्धमा जवाफ दिँदै जाँचबुझ आयोगले बुझाएको प्रतिवेदन आफूले अध्ययन गर्ने बताएका हुन्। दुई जनाको मृत्यु भएको घटनाबारे जाँचबुझ गर्न बनेको आयोगले शुक्रबार उपप्रधान तथा गृहमन्त्रीलाई प्रतिवेदन बुझाएको थियो, जसमा भौतिक पूर्वाधारमन्त्री प्रकाश ज्वालालाई समेत जिम्मेवार मानिएको छ ।

‘छानबिन समितिले जो प्रतिवेदन ल्याएको छ। गृह मन्त्रालयमा समितिले प्रतिवेदन बुझाएको छ। र आज मैले बुझ्दैछु। प्रधानमन्त्रीको हैसियतले अहिलेसम्‍म मैले हेरेको छैन। मैले बुझ्दैछु। आजै क्याबिनेट छ,’ उनले भने, ‘सरकारले बनाएको छानबिन समितिले ल्याएको प्रतिवेदनको अध्ययन गरेपछि आवश्यक कारबाही गरिन्छ। यो विश्वास म दिलाउन चाहान्छु।’

बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वापा)का सभापति रवि लामिछानेले प्रश्न उठाएका थिए । मृतकका परिवारलाई १० लाख रुपैयाँ दिएर सरकार चुप बसेको लामिछानको आरोप थियो ।

जवाफमा प्रधानमन्त्री प्रचण्डले भने १० लाख दिएर चुप बसेको भन्ने गलत भएको बताए । सरकार गम्भीर भएर नै घटनामा संलग्नहरुलाई निलम्बन गर्नुका साथै छानबिन प्रक्रिया अगाडि बढाएको भन्दै उनले भने, ‘१० लाख दिएर चुप लागेर बसेको भन्ने गलत हो । छानबिन प्रतिपक्षले बनाएको होइन होला, मेरै प्रस्तावमा बनेको हो ।’

प्रतिक्रिया