रुविनाको शतकमा माल्दिभ्सलाई २२८ रनको चुनौती

राम्रो अनलाइन     ०१ फागुन २०८०, मङ्गलबार
रुविनाको शतकमा माल्दिभ्सलाई २२८ रनको चुनौती

काठमाडौँ– नेपाली टोलीकी प्रमुख महिला खेलाडी रुविना क्षेत्रीको उत्कृष्ट ब्याटिङमा नेपालले एसिसी महिला प्रिमियर लिग क्रिकेट प्रतियोगितामा माल्दिभ्सलाई जितका लागि दुई सय २८ रनको चुनौती दिएको छ । 
    
मलेसियाको क्वालालाम्पुरमा जारी खेलमा टस जितेर पहिला ब्याटिङ रोजेको नेपालले निर्धारित २० ओभरमा चार विकेट गुमाउँदै दुई सय २७ रनको योगफल बनायो । नेपालका लागि रुविनाले सर्वाधिक एक सय १८ रनको योगदान दिइन् ।
     
उनी नेपालबाट अन्तर्राष्ट्रिय क्रिकेट खेलमा शतक प्रहार गर्ने पहिलो महिला नेपाली खेलाडी बनिन् । रुविनाले ५४ बलमा शतक पूरा गरेकी हुन् । यसअघि नेपालबाट अन्तर्राष्ट्रिय महिला क्रिकेट खेलमा नेपालकी सीता रानामगरले सर्वाधिक ८२ रन बनाइएकी थिइन् । 
    
आजको खेलमा रुविनाले ५९ बलमा १० चौका र पाँच छक्कासहित अविजित एक सय १८ रन बनाएको हो । त्यसैगरी नेपालका लागि पूजा महतोले ५९ रनको योगदान गरिन् । उनले ३६ बलमा पाँच चौका र एक छक्काको मद्दतमा अविजित ५९ रन बनाएको थियो । त्यस्तै सीता रानामगरले १५ रन जोड्दा कविता कुवँले १३ रन बनाइन् । बलिङतर्फ माल्दिभ्सकी शम्मा अलीले सर्वाधिक तीन विकेट लिइन भने नब्बा नासिमले एक विकेट लिइन् । 
 

प्रतिक्रिया