सागरद्वारा ‘हाइजम्प’ प्रतियोगितामा उत्कृष्ट प्रदर्शनी

राम्रो अनलाइन     ०१ फागुन २०८०, मङ्गलबार
सागरद्वारा ‘हाइजम्प’ प्रतियोगितामा उत्कृष्ट प्रदर्शनी

झोता–  बझाङमा जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता जारी रहँदा  किशोर विवेक सागर निकै चर्चामा रहे । ‘हाइजम्प’ प्रतियोगितामा उत्कृष्ट प्रदर्शनी गरेपछि उनी चर्चाको शिखरमा पुगेका हुन्  ।

खप्तडछान्ना गाउँपालिका स्थित खप्तड माविमा अध्ययनरत सागरले झोतामा सम्पन्न राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको हाइजम्प तर्फ स्वर्ण पदक जिते। पाँच दशमलव छ फिट उचाइ जम्प गर्दै उनले स्वर्णपदक हात पारे ।  अहिले उनीलाई ‘उड्ने चरो’ भनेर सामाजिक सञ्जालमा धेरैले प्रशंसा गरिरहेका छन् । एक फेसबुक प्रयोगकर्ताले लेखेका छन्, ‘ओएमजी खप्तड (खप्तडछान्ना गाउँपालिका)को उड्ने चरो रहेछ त । प्वाख फिटिङ गरेको छ कि क्या हो ।’

सागर  खप्तड माविमा कक्षा ९मा पढ्छन् । स्थायी ठेगाना बाजुरा भए पनि खप्तड माविमा अध्ययन गरिरहेका  उनी विशेषगरी एथलेटिक्स र सङ्गीतमा रूचि राख्छन् । उनी भन्छन्, ‘मेरो रूचिको खेल एथलेटिक्सभित्र उफ्रने, फ्याँक्ने, दगुर्ने नै हो । सङ्गीत तथा डान्सिङ पनि उत्तिकै मन पराउँछु ।’

उनका अनुसार खप्तड माविमा भर्ना हुनुअघि पनि उनी एथलेटिक्सका विभिन्न विधामा अभ्यास गर्थे । ‘यस्तो अवसर आउला भन्ने सोचेको थिइनँ । मौका मिल्यो, मेरो अभ्यासले पनि काम गर्‍यो ।’ सागरले भने ।
 

प्रतिक्रिया