बौद्धिक र श्रम शक्तिको पलायन रोक्नुपर्छ : अध्यक्ष ओली

राम्रो अनलाइन     २३ माघ २०८०, मङ्गलबार
बौद्धिक र श्रम शक्तिको पलायन रोक्नुपर्छ : अध्यक्ष ओली


झापा–नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले देशबाट पलायन भइरहेको बौद्धिक र श्रम शक्तिलाई रोक्न उद्यमशीलताको विकासमा राज्यले जोड दिनुपर्ने बताएका छन्।

झापामा नवनिर्मित दश मेगावाट क्षमताको सौर्य ऊर्जा परियोजना ‘झापा इनर्जी’को आज एक समारोहबीच उद्घाटन गर्दै अध्यक्ष ओलीले उद्यमशीलताको विकासका लागि ऊर्जा महत्त्वपूर्ण आधार हुने बताए। 

‘ब्रेन ड्रेन र मसल ड्रेनको जुन समस्या छ, त्यसलाई रोक्न मुलुकभित्रै रोजगारी सिर्जना हुने परियोजना स्थापना जरुरी हुन्छ’, उनले भने । मुलुकमा ६० प्रतिशत जनशक्ति श्रमयोग्य र ४० प्रतिशत जनशक्ति युवा भएको अवस्थामा जनसाङ्ख्यिक लाभ लिनका लागि उनले आफू प्रधानमन्त्री भएको बेला शैक्षिक प्रमाणपत्र र परियोजना धितो राखेर कर्जा लिन पाउने व्यवस्थाको सुरुआत गरेको स्मरण गरे।

अध्यक्ष ओलीले नेपालमा विकास हुनसक्छ भन्ने उदाहरण झापा इनर्जी रहेको उल्लेख गर्दै कृषि, ऊर्जा र प्रविधिमा फड्को मार्ने विकास आवश्यक भएको बताए । नेपालमा जलविद्युत् मात्र ऊर्जाको स्रोत भनेर बुझ्न नहुने भन्दै उनले सौर्य र हाइड्रोजन ऊर्जाको सम्भावना खोज्नुपर्ने बताए।

कार्यक्रममा झापा इनर्जी लिमिटेडका अध्यक्ष एवं सांसद एलपी साँवाले परियोजनाबाट वर्षमा एक करोड ७६ लाख १० हजार युनिट विद्युत् उत्पादन र बर्सेनि रु १२ करोड ८५ लाख आम्दानी हुने जानकारी दिए । परियोजनास्थललाई पुष्प बगैँचाको रुपमा समेत विकास गरी आन्तरिक पर्यटक आकर्षित गर्ने योजना रहेको उनले बताए।

झापा इनर्जी कोशी प्रदेशको सबैभन्दा बढी क्षमताको सौर्य ऊर्जा परियोजना हो । पूर्वसभामुख स्व सुभाषचन्द्र नेम्वाङले दुई वर्षअघि परियोजनाको शिलान्यास गर्नुभएको थियो । नेपाल विद्युत् प्राधिकरणको शिवसताक्षीस्थित बुलुचोक सवस्टेसनमा उक्त सौर्य ऊर्जा जोडिएको छ ।

झापाको शिवसताक्षी नगरपालिका–४ मा सञ्चालित झापा इनर्जी प्रालिबाट उत्पादित दश मेगावाट विद्युत् नेपाल विद्युत् प्राधिकरणको प्रशारण लाइनमा गत पुस ११ गतेदेखि जोडिएको छ । पूर्वपश्चिम राजमार्गको दुधेबाट १० किलोमिटर दक्षिण गाउँमा २१ बिघा क्षेत्रफलमा परियोजनाको सौर्य प्यानल राखिएको छ ।

झापा क्षेत्र नं ४ का प्रतिनिधिसभा सदस्य साँवाको नेतृत्वमा रु ८७ करोडको लगानीमा चार वर्षअघि परियोजना निर्माण सुरु भएको हो । परियोजनामा माछापुच्छ्रे बैंक र सिभिल बैकको ७५ प्रतिशत वित्तीय साझेदारी र २५ प्रतिशत पब्लिक शेयर रहेको छ । झापा इनर्जी प्रालि र नेपाल विद्युत् प्राधिकरणबीच २०७८ मङ्सिर १२ गते विद्युत् खरिद सम्झौता भएको थियो । सम्झौताअनुसार परियोजनाबाट उत्पादित बिजुली प्राधिकरणले प्रतियुनिट सात रुपैयाँ ३० पैसामा खरिद गर्ने भएको छ ।

प्रतिक्रिया