खोटाङ–दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१५ विजयखर्कका धर्मराज पोखरेलले विसं २०७८ मा ‘विजय अग्र्यानिक भिजेल कम्पनी प्रालि’ मार्फत आफ्नै गाउँमा कृषि फार्म सुरु गरेका थिए । बूढानीलकण्ठ नगरपालिका–८ काठमाडौँमा परिवारसहित बसोबास गर्दै आएका उनले आफ्नो जन्मथलो विजयखर्कका फरक–फरक १३ ठाउँ तथा बुइपा र राजापानीमासमेत बङ्गुर, बाख्रा, गाई–भैँसी, कुखुरा, माछा, फलफूल र तरकारीखेती गर्दै आएका छन्।
विजयर्खस्थित उनले आफ्नै जग्गामा १३ बङ्गुर फार्म सञ्चालन गरेका छन् । राजापानीमा दुईवटा बाख्रा फार्म छन् । बङ्गुर र बाख्राको मल प्रयोगका लागि फार्म आसपासमा फलफूल र तरकारीखेती लगाइएको छ । जस्ताले छाइएको सिमेन्टेड फार्मभित्र बँदेल पनि पालिएको छ । भूगोल, हावापानीअनुसार माटो परीक्षण गरेर व्यावसायिक कृषि फार्म सञ्चालन गरिएको उनले जानकारी दिए।
विजयखर्कको रामबाडीस्थित दुईवटा बङ्गुर फार्ममा ५० का हाराहारीमा बङ्गुर र बँदेल छन् । वरपर कागती, लिची, कटहर, केरा, माछापोखरी, तरकारीखेती लगाइएको छ । विजयखर्ककै भैरमपुरबेँसीमा पाँच बङ्गुर फार्म छन् । जहाँ करिब दुई सय हाराहारीमा बङ्गुर र बँदेल छन् । त्यही सातवटा पोखरीमा माछापालन गरिएको छ । एउटा कुखुरा फार्ममा करिब पाँच सयको हाराहारीमा कुखुरा छन् । आसपासमा अनार, अङ्गुर, आँप, लिची, कटहर, सुन्तला, कागती, एभोकाडो, चेरीमैया, जापानिज कटुस, केरा, अम्बा, रुद्राक्षलगायतको व्यावसायिक खेती लगाइएको छ ।
बुइपाको स्वाराटोलमा चारवटा बङ्गुर फार्म छन् । जहाँ करिब दुई सयको हाराहारीमा बङ्गुर छन् । सँगै अम्बा, अमला, कागती, सुन्तला, एभोकाडो लगाइएको छ । बुइपाकै तमरुङमा एउटा बङ्गुर फार्म राखिएको छ । सो फार्ममा ५० वटाको हाराहारीमा बङ्गुर छन् । सँगै सिताके च्याउ, किबी, अनार, कागती, सुन्तला, स्याउ, अङ्गुर, कुरिलो र तरकारीखेती लगाइएको छ । बुइपाकै दम्कुमा भैँसीगोठ, सुँगुर खोर, कुखुरा फार्मसँगै कागती, सुन्तला, लिचीलगायतको खेती लगाइएको छ । हरेक ठाउँमा सञ्चालित फार्मबाट उत्पादनसमेत दिन थालेको पाइएको छ ।
यस्तै राजापानीको खाम्तेलडाँडामा एउटा बङ्गुर फार्ममा ६० बङ्गुर छन् । बङ्गुरसँगै गाई र भैँसीपालन गरिएको व्यवसायी पोखरेल बताउँछन् । राजापानीकै तल्लोबडकामा दुईवटा बाख्रा फार्ममा करिब चार सयको हाराहारीमा बाख्रापालन गरिएको छ । पाँचवटा गाईपालन गरिएको छ । गाई बाख्राका लागि डाले र भुइँघाँस लगाइएको छ । फार्म आसपासमा कागती, सुन्तला, लिची, तरकारीखेती लगाइएको छ । हरेक ठाउँका फार्ममा एक–एक परिवारलाई पारिश्रमिकसहित सेयर सदस्यका रूपमा राखिएको छ । सेयर सदस्यका रूपमा राखिएका नौ घरपरिवारका ६५ जनाले फार्मको हेरचाह गर्ने गरेका छन् ।
फार्ममा तयार भएका बङ्गुरको मासु बिक्री वितरणका लागि उनले बुइपाको पञ्चदोबाटोमा खानेबस्ने व्यवस्थासहितको होटल र कोल्डस्टोरसहितको मासु कटिङ सेन्टर खोलेका छन् । फार्ममा पाल्नका लागि धरान र चितवनबाट बँदेलको पाठा ल्याइएको हो । प्रतिकेजी रु एक हजार दुई सयका दरले फार्मबाटै ५६ बँदेल बिक्री भइसकेको उनी बताउँछन् । राजनीतिमा समेत सक्रिय रहनुभएका पोखरेलले काठमाडौँमा विजय इन्जिनियरिङ कन्सल्ट्यान्सी सञ्चालन गर्दै आएका छन्।
बहुउद्देश्यीय तरिकाले स्थापना गरिएको कृषि फार्मका लागि संरचना निर्माण तथा सञ्चालनमा अहिलेसम्म एकोहोरो लगानीमात्र भइरहेको पोखरेलले बताए। ‘कृषिमा वास्तविक किसानले अनुदान पाउँदैनन् । अहिले व्यक्तिगतरूपमा लगानीमात्र भइरहेको छ । आम्दानी सुरु भएको छैन । अहिलेसम्म रु १५ करोडभन्दा बढी लगानी गरिसकेको छु’, उनले भने, ‘जिम्मेवार निकायमा बसेकाहरू कृषिमा सम्भावना छ भनेर गफमात्रै गर्ने गरेका छन् । मैलेचाहिँ आफैँ गरेर देखाऔँ भन्ने हो । फार्मले आम्दानीसमेत दिन थालेको छ । मेरो कृषि फार्म देखेर यहाँका धेरैजना स्थानीय बासिन्दाले आ–आफ्नो क्षेत्रमा व्यावसायिक खेती सुरु गरेका छन् । कृषि पेसालाई व्यावसायिक तथा आधुनिक तरिकाले अपनाउन अभियानसमेत चलाइरहेको छु ।’
फार्ममा उत्पादित अधिकांश कृषि उपज तथा पशुपक्षी काठमाडौँ निर्यात हुने गरेको जनाइएको छ । केही समयपछि काठमाडौँको विभिन्न ठाउँमा आफ्नै बिक्री केन्द्र सञ्चालन गर्ने तयारी गरिएको पोखरेलले जानकारी दिए । कृषि पेसामा ठूलो धनराशि लगानी गर्नुभएका उनले विसं २०७९ को स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेस प्रदेश समितिबाट दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको नगरप्रमुखको टिकट पाएपनि अन्तिममा उनले आफ्नो उम्मेदवारी फिर्ता लिएर तीर्थराज भट्टराईलाई सघाए । प्रदेशसभा निर्वाचनमा पनि पोखरेलले खोटाङ प्रदेशसभा (क) मा वाम–लोकतान्त्रिक गठबन्धनको उम्मेदवारविरुद्ध बागी उम्मेदवारी दिनुभएको थियो । निर्वाचन परिणामअनुसार गठबन्धनतर्फका नेकपा ९एकीकृत समाजवादी०का वीरबलकाजी राई पराजित हुनुभयो भने, नेकपा एमालेका पाँचकर्ण राई विजयी भए । कांग्रेस महाधिवेशन प्रतिनिधिसमेत रहेका पोखरेललाई केन्द्रीय अनुशासन समितिले पाँच वर्षका लागि साधारण सदस्यसमेत नरहने गरी निष्काशन गरेपछि अहिले आफ्नै गाउँमा आएर कृषि कर्ममा रमाइरहेका छन्।