अध्यागमनमा सेटिङ गरेर मानिस विदेश पठाउने अध्यागमन अधिकृतविरुद्ध पक्राउ पुर्जी जारी

राम्रो अनलाइन     १४ माघ २०८०, आइतबार
अध्यागमनमा सेटिङ गरेर मानिस विदेश पठाउने अध्यागमन अधिकृतविरुद्ध पक्राउ पुर्जी जारी


काठमाडौं– काठमाडौं जिल्ला अदालतले अध्यागमनमा सेटिङ गरेर भिजिट भिसामा मानिस विदेश पठाउने गिरोहमा आबद्ध सात जना अध्यागमन अधिकृतविरुद्ध पक्राउ पुर्जी जारी गरेको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयमा संगठित रूपमा भिजिट भिसाको सेटिङ चलेको पाएपछि प्रहरीले उनीहरुलाई पक्राउ गर्न अदालतबाट अनुमति माग गरेको हो । थुनामा रहेका अध्यागमन अधिकृत नरवीर खड्का र बिचौलियामाथिको अनुसन्धानमा थप कर्मचारीको संलग्नता पुष्टि भएको छ ।

अध्यागमन अधिकृतहरू कुशल बराल, शैलेन्द्र ढकाल, विमल पौडेल, विष्णु अर्याल, विकास डंगोल, पीताम्बर रिमाल र सुजन फागोविरुद्ध पक्राउ पुर्जी जारी भएको जनाइएको छ ।

जिल्ला अदालत, काठमाडौंले माघ ९ गते उनीहरूविरुद्ध पक्राउ पुर्जी जारी गरेको छ । भिजिट भिसाको सेटिङमा प्रहरीले लिखत कीर्ते तथा संगठित अपराधको कसुरमा अनुसन्धान गरिरहेको छ । दुई महिनाअघि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले यस प्रकरणमा प्रारम्भिक अनुसन्धान थालेको थियो ।

अपराधले अधिकृत खड्कासहितलाई पक्राउ गरी विस्तृत अनुसन्धानका लागि परिसरमा बुझाएको थियो । सुरुमा बिचौलिया गीता साहलाई पक्राउ गरी प्रहरीले अनुसन्धान थालेको थियो । गीतामार्फत ट्राभल एजेन्सी सञ्चालक सरोज यादव पक्राउ परेका थिए । सरोजमार्फत प्रहरी अध्यागमन अधिकृत खड्कासम्म पुगेको थियो ।

खड्काको बयानका आधारमा ट्राभल एजेन्सी सञ्चालक पदम लामा, छिरिङ लामा, विनोद कार्की, रामप्रसाद भण्डारी, दिनेश ज्ञवालीलगायतलाई प्रहरीले पक्राउ गरेको छ ।

प्रतिक्रिया