मुगुमा भाइरल ज्वरो : ३ जनाको मृत्यु

राम्रो अनलाइन     ११ माघ २०८०, बिहिबार
मुगुमा भाइरल ज्वरो : ३ जनाको मृत्यु

मुगु – जिल्लाको सोरुगाँउपाली– ६ पुरुमुरु गाँउमा ‘भाइरल’ ज्वरोका कारण तीन जनाको मृत्यु भएको छ । 

भाइरल ज्वरोले सोरुगाँउपालिका– ६ पुरुमुरु गाँउका वर्ष ७२ का हरिबहादुर शाही, ७५ वर्षकी कृति छन्त्याल र  २४ वर्षीया कुसुम ढोलीको मृत्यु भएको सोरुगाँउपालिका– ६ जिमा गाँउका कर्णजित बुमीले बताए । 

जिल्लाका पुरुमुरु, जिमा, भिई, नार्थपु, सिप, ख्याल्च, वुम्च, लगायत गाउँका सर्वसाधारण भाइरल ज्वरोले पीडित भएका छन् । जिल्ला अस्पताल बिरामीले भरिएका छन् । 

गाँउभर बिरामी छन् तर स्थानीय सरकारबाट कुनै किसिमको सहयोग नभएको उनले गुनासो गरे। विपन्न वर्ग उपचारको अभावमा छटपटाइरहेका छन् । स्वास्थ्यचौकीमा सिटामोलसमेत नपाइने अवस्था रहेको उनले बताए । 

यसैबीच, जिल्ला स्वास्थ्य कार्यालयले मङ्गलबार चिकित्सकसहितको टोलीबाट  सोरुगाँउपालिका, पुरुमुरु र जिमा गाँउका एक सय ५० जनाभन्दा बढीको स्वास्थ्य परीक्षण गरेको छ । 

जिल्ला अस्पतालका चिकित्सक कमल ढुङ्गानाले चिसोका कारण बिरामी बढेका बताउँदै ‘भाइरल फिबर’ नियन्त्रण हुन केही समय लाग्ने जानकारी दिए । उनले तारन्तार पसिना आउने, टाउको दुख्ने, मांसपेसी दुख्ने, खानामा अरुची हुने, कमजोर महसुस हुने भाइरल फिबरका लक्षण हुन् भने । 
 

प्रतिक्रिया